कार्यकारीको कोठामा मेयरले ठोके ताला

ललितपुर, चैत २३ ।
ललितपुर गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले कार्यकारी अधिकृत टेकराज पन्थीको कार्यकक्षमा ताला लगाइदिएका छन् । गत आइतबार अवैध रुपमा वालुवा निकासी गर्दै आएको खानी दर्ता गर्नका लागि मेयरले कार्यकारीलाई दवाव दिएका थिए । तर, कार्यकारीले मेयरले लेखेको पत्रमा हस्ताक्षर गर्न नमानेपछि त्यसैलाई निहुँ बनाएर मेयरले कार्यकारीलाई कार्यालयमा नआउन भन्दै ’नेम प्लेट’ समेत निकालेका छन् । कार्यकारी अधिकृत पन्थीले हस्ताक्षर गर्न नमानेपछि मेयरले स्थानीय सरकार सञ्चालन ऐन मिच्दै सोमबारदेखि वीरगन्जबाट काजमा आएका सन्तबहादुर बस्नेतलाई निमित्त कार्यकारीको जिम्मा दिएका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार मेयरले कुनै पनि कर्मचारीलाई निमित्त कार्यकारीको पदमा नियुक्ति गर्न पाइँदैन । यदी आवश्यक परिहाले कार्यकारी र मन्त्रालयले नियुक्ति गर्न सक्छ । जनप्रतिनिधिलाई कार्यालयको नीतिगत निर्णय गर्ने र कुनै पनि प्रशासनिक चिठीपत्र वा व्यवसाय दर्ता गर्ने अधिकार छैन । कार्यकारीलाई निकालेपछि अहिले प्रशासकीय अधिकृतले गर्ने हस्ताक्षर पनि मेयर आफैले गर्दै आएका छन् । नियम मिच्दै उनले शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुर र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने चिठीमा हस्ताक्षर गरेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव प्रेम प्रसाद लुइँटेलले मेयरले यसो गर्नु कानुन विपरीत भएको बताए ।
मेयरले पाँचदिन अघिदेखि कार्यकारीको कक्षमा ताला लगाइदिएका थिए । आफ्नो कार्यकक्षमा ताला लगाएपछि मंगलबारसम्म विद्युतीय हाजिर थिचेर फर्किएको कार्यकारी अधिकृत टेकराज पन्थीले जानकारी दिए । उनले लामो समयदेखि विवाद चुलिएको ढुंगाखानीको विषयमा आफूहरुको भनाभन भएको स्वीकारे । ‘मैले प्रशासनिक कामका कुनै पनि अवरोध गरेको छैन,’ उनले भने, ‘ढुंगाखानीको समाचार आएपछि छिटो टुंग्याएर स्विकृति दिन दवाव दिएका थिए । मैले उक्त आग्रहलाई नमान्दा यस्तो भएको हो ।’ मेयरसँग भनाभन भएपछि हारगुहार गर्दै शुक्रबार उनी सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग सरुवा माग्न गएका थिए । मेयर महर्जनले कार्यसम्पादन प्रति स्थानीयको गुनासो बढ्न थालेपछि कार्यालयबाट निकालेको दाबी गरे । ‘कार्याकारीले स्थानीयको भावना बुझेनन्, खाली बकमफुसे कामतिर मात्रै लागे, त्यसकारण मैले कार्यालय नआउन भनेको हुँ,’ उनले भने ।