काम नपाएपछि गण्डकी प्रदेशको संसद बैठक स्थगीत

पोखरा, फागुन २२ ।
ठ्याक्कै १ महिना स्थगीत भएको गण्डकी प्रदेशको संसद बैठक मंगलबार बस्यो । बहालवाला मन्त्री रवीन्द्र अधिकारीको निधनलाई लिएर शोक प्रश्ताव पारित गरेपछि बैठक स्थगीत भयो, आजका लागि ।

आज (बुधबार) १ बजे बस्ने भनिएको बैठक पनि सूचना टाँस गरेर बैठक बस्नु अघि नै स्थगीत गरियो । बैठकमा पेश गर्ने कुनैपनि विधेयक नभएपछि बैठक स्थगीत गरिएको हो । संसद सचिवालयले चाहीँ बिशेष कारण भन्दै स्थगीतको सूचना टाँसेको छ ।

प्रदेशसभालाई विधेयक दिन बुधबार बिहान विधायन समितिको बैठक पनि राखिएको थियो । विधायन समितिले ताल प्राधिकरण सम्बन्धिको विधेयक प्रदेशसभामा पेश गर्न प्रतिवेदन तयार पार्ने विषयमा छलफल थियो । तर, विधेयकमाथिको आवश्यक छलफल नपुगेको भन्दै समितिका सदस्यहरुले उक्त विधेयक आज नै प्रदेशसभामा पेश गर्न अनुमति दिएनन् ।

विधायन समितिका सदस्य कृष्णचन्द्र नेपाली पोखरेलले छलफल नपुगेका कारण र नयाँ विधेयकको पनि प्रदेशसभामा पेश गर्ने समयावधि नपुगेका कारण बैठक स्थगित भएको जानकारी दिए । सरकारले पर्याप्त बिजनेस दिन नसकेका कारण गण्डकी प्रदेशको सदन धेरै पटक स्थगीत भैसकेको छ ।

File Photo