काम नगर्ने २१ ठेकेदारलाई महानगरको कारबाही

पोखरा, साउन १७ ।
पोखरा महानगरपालिकाले १५ ठेकेदार कम्पनीलाई एकैदिन कारबाही गरेको छ । आर्थिक बर्ष २०७४ ०७५ मा टेण्डर लिएर पनि काम नगरेका ठेकेदारलाई महानगरले कारबाही स्वरुप जरिवाना लिईएको हो । महानगरले सञ्चालन गरेका कनेक्टिङ रोडका लागि टेण्डर मार्फत ठेकेदारको जिम्मा लगाईएको थियो ।

तोकिएको समयमा काम नगरेपछि उनीहरु कारबाहीमा परेका हुन् । महानगरले सबै ठेकेदारलाई पत्र पठाएर जरिवाना बुझाउन निर्देशन गरेको छ । महानगरले गएको बर्ष ३० वटा कनेक्टीङ रोडमा काम गरेको हो । जसमध्ये २६ वटा सडक टेण्डरमार्फत र ४ वटा उपभोक्ता समितिमार्फत काम गरिएको छ । उपभोक्ता समितिका लागि चाहीँ म्याद थप भएको र ठेकेदारलाई कारबाही गरिएको महानगरले जनाएको छ ।

५ वटा सडकका लागि जिम्मेवारी लिएका कम्पनीले समयमै काम सम्पन्न गरेका छन् भने ३ वटा ठेकदारले तोकिएको म्याद नाघेपछि जरिवाना तिरेरै काम सकेका छन् । समयसीमा नाघेर काम सम्पन्न गर्ने ३ निर्माण कम्पनीबाट महानगरले जरिवाना बापत एक लाख ३० हजार जरिवाना असुल उपर गरेको मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सीनाले जानकारी दिए ।

यस्तै बाँकी १८ वटा कम्पनीसँग १७ लाख ३७ हजार रुपैयाँ जरिवाना असुलउपर गरिने उनले बताए । ‘पहिलो प्रयास भएकोले ठेकेदारलाई मात्रै कारबाही गरिएको हो । अर्को बर्षदेखि समयमा काम नगर्ने उपभोक्ता समिति पनि कारबाहीमा पर्छन्, उनले भने–विशेष खालको कार्यविधि तर्जुमा गरेर समयमा योजनाका काम सक्ने महानगरको लक्ष्य छ ।’ पोखरा महानगरले उपभोक्ता समिति सम्बन्धी कार्यविधिको मस्यौदा बनाएर कार्यपालिकामा छलफल गरिरहेको छ । काम नसक्ने ठेकेदारलाई नसकिँदा सम्म दैनिक कन्ट्याक्ट रकमको ०.०५ प्रतिशतले जरिवाना थपिने उनको भनाई छ ।