कानुनमन्त्री तामाङले रूँदै राजीनामा दिए

काठमाण्डौं, साउन ८ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले राजीनामा घोषणा गरेका हुन् ।

उनले अब केहीबेरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउन जान लागेको जानकारी दिए । उनले आफूले नैतिकताका आधारमा राजीनामा दिएको बताए । बंगलादेशमा एमबिबिएस पढ्न जाने छात्राले सर्टि्फिकेट पाउन आफूलाई सुम्पनु पर्ने अभिव्यक्ति दिएपछि तामाङको चौतर्फी आलोचना भएको थियो ।

श्रीमती उषाकला राईसहित पत्रकार सम्मेलनमा पुगेका मन्त्री तामाङले आफूले आजसम्म महिला अधिकारका कुरा उठाएका तर अहिले त्यही कुराले लखेटेको बताए । सुरूमा उनले आफूले पदभार सम्हालेपछि गरेका कामहरूको बारे चर्चा गरेका थिए ।

त्यसपछि उनी भावुक बनेका थिए। उनका आँखा रसाएका थिए । उनले आफूले बोलेको कुरालाई काँटछाँट गरी भिडियो बनाएर हालेको गुनासो गरे ।