कानुनमन्त्रीको विरोधमा पोखरामा महिला संघको प्रदर्शन (फोटोमा हेर्नुस्)

पोखरा, साउन ७ ।
कानुनमन्त्री शेरबहादुर तामाङले दिएको अभिब्यक्ति प्रति नगर महिला संघ पोखरा महानगर समितिले विरोध प्रदर्शन गरेको छ । सोमबार पोखराको चिप्लेढुंगामा नाराबाजी सहित कानुनमन्त्रीको पुत्ला दहन गरेको थियो । काँग्रेस कार्यालयबाट निस्किएको ¥याली विपीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै कास्की काँग्रेसका सभापति कृष्ण केसीले कानुनमन्त्रीको अभिब्यक्ति गैर जिम्मेवार भएको टिप्पणी गरे । ‘दक्षता प्राप्त गर्न बंगलादेश गएका चेलीलाई यस्तो आरोप लगाउनु गम्भीर बिषय हो । त्यसमाथी मन्त्रीले नै सार्वजनिक रुपमा यस्ता अभिब्यक्ति दिनु सामान्य लिनु हुँदैन, उनले भने–मन्त्री नै भएपनि गलत अभिब्यक्ति दिनेलाई कारबाही गर्नुपर्छ । सरकार त्यसका लागि तयार हुनुपर्छ ।’ मन्त्रीसँगै बि एण्ड सीका सञ्चालक दुर्गा प्रसाईंलाई पनि कडा कारबाहीको माग गर्दै उनले गोविन्द केसीको जीवनरक्षाको माग गरे । ‘नेपाली जनताको हितका लागि गरेको आन्दोलनमा सरकारले पनि सहयोग गर्नुपर्छ । उल्टो प्रतिपक्षीलाई आरोप लगाएर उम्किन मिल्दैन, उनले थपे–केसीका माग तत्काल पूरा होस् । वहाँको जीवनरक्षाको माग गर्दछु ।’दुर्गा प्रसाईंले बंगलादेशमा डाक्टर पढ्न गएका नेपाली चेलीहरुप्रति आपत्तिजनक आपत्ति दिएको भन्दै देशब्यापी विरोध भैरहेको छ । कार्यक्रममा महिला संघकी केन्द्रिय सदस्य तारा अधिकारी, महिला संघकी जिल्ला सचिव सीता गुरुङ, नेविसंघका केन्द्रिय सदस्य भानु ढकाल लगाएतले बोलेका थिए ।महिला संघ पोखरा महानगर समितिकी सभापति माया बरालको अध्यक्षतामा भएको कार्यक्रम विमला भण्डारीले सञ्चालन गरेकी थिईन् । बर्तमान सरकार जनताप्रति अनुदार हुँदै गएको भन्दै बरालले जतिसक्दो छिटो डा. गोविन्द केसीको माग सम्बोधन गर्न आग्रह गरिन् । उनले सरकारको गतिविधि नसच्चिएसम्म निरन्तर आन्दोलन जारी राख्ने चेतावनी दिईन् ।

यसैबीच, महिला संघले जिल्लाभरी गोविन्द केसीको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गर्ने तयारी गरिरहेको महिला संघ पोखरा नगरकी सल्लाहकार सरस्वति गुरुङले जानकारी दिईन् । ‘गोविन्द केसीका माग जनपक्षीय छन् । उनको मागमा सरकार गम्भीर हुनैपर्छ, उनले भनिन्–माग पूरा नभए देशब्यापी आन्दोलन चर्किन्छ । कास्कीले नेतृत्व लिन तयार छ ।’ उनले सरकारले गरेका गलत कामको भण्डाफोर गर्न सबै तयार हुनुपर्ने बताईन् ।

Photo-dna nepal