काठमाडौँ र काभ्रेमा सबैभन्दा धेरै क्यानसर रोगी

काठमाण्डौं, माघ २० ।
नेपालमा अर्बुद(क्यान्सर) रोगीको संख्या सबैभन्दा बढी काठमाडौँ र काभ्रेपलाञ्चोकमा रहेको तथ्य सार्वजनिक भएको छ । अर्बुद रोग दिवसका अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा.ऋषिकेशनारायण श्रेष्ठले एक वर्षको अवधिमा उपचार गरिएका बिरामीमध्ये काठमाडौंका ३ सय ४९ र काभ्रेपलाञ्चोकका १ सय ९१ रहेको बताए । त्यस्तै भक्तपुरका १ सय ७८, ललितपुरका १ सय ५० र सिन्धुपाल्चोक १ सय ३८, मोरङका १ सय २९, झापाका १ सय १९, सुनसरीका १ सय २ दोलखाका ९५ र मकवानपुरका ९० अर्बुदरोगीले अस्पतालमा उपचार गराएको डा श्रेष्ठले जानकारी दिए ।
अस्पतालमा आएका बिरामीमध्ये सबैभन्दा धेरै पाठेघरका अर्बुद रोगी भेटिएको छ। अस्पतालका अनुसार एक वर्षमा ४ सय ६२ मा पाठेघर, ४ सय २२ मा घाँटीको र ३३७ जनामा स्तन अर्बुद रोग देखिएको छ। टाउको र नाकमा हुने अर्बुद रोग २ सय ९३ जनामा देखिएको छ । सो अस्पतालले मात्रै एक वर्षमा करिब ६० हजार अर्बुद रोगीको उपचार गर्ने गरेको छ । अस्पतालको तथ्यांकअनुसार सन् २०१२ देखि २०१७ सम्मको पाँच वर्षका अवधिमा नेपालमा अर्बुदरोगीको संख्या वृद्धि हुँदै गइरहेको छ । सन् २०१२ मा अस्पतालले २८ हजार ३ सय ६६ बिरामीको उपचार गरेकामा २०१७ सम्म आइपुग्दा सो संख्या दोब्बरभन्दा धेरै अर्थात् ६८ हजार ४ सय ४१ पुगेको अस्पतालका प्रशासक राजाराम तजलेले जानकारी दिए ।