काङ्ग्रेसको हारमा २ कारण देखाए कोइराला परिवारले

काठमाडौं, माघ २।
चुनावमा पराजित भएसँगै कांग्रेसभित्र विवाद चुनाव चुलिएको भनिएको बेला ‘कोइराला परिवार’ का तीन नेता छलफलमा जुटेका छन् ।
कांग्रेसका महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला र सुजाता कोइराला छलफलमा जुटेका हुन् ।
चुनावपछि पहिलो पटक कोइराला परिवार एकै स्थानमा देखिएका हुन् । उक्त भेटघाटमा निर्वाचनपछी देश र पार्टीको अवस्थाका बारेमा छलफल भएको थियो ।
सुजाता कोइरालाको निवास मण्डिखाटारमा भएको उक्त भेटमा कांग्रेस चुनावमा पराजित हुनुको कारणबारे समिक्षा समेत भएको नेता शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
तीन नेताबीचको छलफलमा मुलतः कांग्रेस चुनावमा पराजित बन्नुमा पार्टी संस्थागत ढंगले नचल्नु र नेतृत्व कमजोर बन्नुको निश्कर्ष निकालिएको छ । यी २ कारणले नै कांग्रेसले चुनावमा नराम्ररी पराजय भोग्नु परेको उनीहरुको निश्कर्ष थियो ।
‘पारिवारिक भेटमा हारको समिक्षा हुनुका साथै पार्टी संस्थागत ढंगले नचलेको तथा नेतृत्व पंक्ति कमजोर भएको निश्कर्ष निकालिएको छ, ‘थपलियाले भने, ‘पार्टीलाई पुरानै अवस्थामा र पार्टी पंक्तिलाई एकताबद्ध बनाउन अग्रसरता लिने तीन नेताबीच समझदारी भएको छ ।’
बिहान ११ बजेदेखि भएको ‘लन्च मिटिङ’ दिउँसो साढे १ बजेसम्म चलेको थियो । यस्तै नेविसंघभित्र देखिएको विवाद तत्काल टुंग्याउन पहल गर्ने पनि निर्णय भएको थपलियाले बताए ।
पार्टीभित्र गुटबन्दी मौलाएको बेला कोइराला परिवारका तीन हस्ती एकै ठाउँमा भेला भएर एकताको सन्देश दिइएको हो ।
यसअघि गत साउन ४ गतेपछि तीन कोइराला परिवारबीच भेटवार्ता भएको थियो । त्यसयता मंगलबार पहिलो पटक भेटवार्ता भएको हो ।
त्यतिबेला पनि भेटमा राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक राजनीतिको बारेमा छलफल भएको थियो।