कांग्रेस रुपाले पालिकालाई भन्योः ‘तोकादेशको हुकुमी शैली अन्त्य होस्’

पोखरा, जेठ ३२ ।
नेपाली कांग्रेस रुपा गाउँ कार्यसमितिले गाउँपालिका अध्यक्षको तोकादेशमा हुने भुक्तानी रोक्न ध्यानाकर्षण गराएको छ । विकास निर्माण र आर्थिक अवस्थाबारे १५ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै भनिएको छ, ‘अध्यक्षको एक निर्णयमा तोक आदेशको भरमा ठुलो रकम अबण्डा राखी १ लाख सम्मको योजनामा भुक्तानी गर्ने निरकुंश हुकुमी शैली तत्काल बन्द गरियोस् ।’

विहिबार सभापति विमलबाबू न्यौपाने सहितको टोलीले पालिका अध्यक्ष नवराज ओझालाई १५ बुँदे ध्यानाकर्षण बुझाएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं प्रतिवेदनमा केन्द्रित रहेर ध्यानाकर्षण गराएको न्यौपानेले बताए । पालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न नसकेको र राजनीतिक दलले कब्जा गरेको आरोप लगाइएको छ ।

यस्तै, कोरोना महामारीको नाममा औषधिमा आर्थिक अनियमितता भएको भन्दै तत्कालीन समयको सम्पूर्ण आम्दानी खर्च सार्वजनिक गर्न माग गरिएको छ । कांग्रेसले प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रममा पनि अनियमिमता भएको बताएको छ ।

भूकम्प प्राधिकरणमा घर सिफारिस गर्दा राजनीतिक आस्थाको आधारमा सिफारिस गरेको र एकै व्यक्तिको नाममा दोहोरो सुविधा दिइएको सभापति न्यौपानेले बताए । सवारी साधन मर्मत, इन्धन खर्च, खाजा खर्चका नाममा आर्थिक हिनामिना गरिएको र यसले भ्रष्टाचारको छनक स्पष्ट भएको बताइएको छ ।

राजनीतिक आस्थाका आधारमा उपभोक्ता समितिलाई अनावश्यक दुःख दिएको, सेवामुखी भन्दा कार्यकर्ता मुखी टुक्रे योजना छनोट गरिएको, पालिकाभित्रका सडक, कुला, खोलाको आदिको मापदण्ड स्पष्ट गर्न नसकेको आरोप कांग्रेसले लगाएको छ ।

ध्यानाकर्षण पत्रमा पालिका भित्रका स्वास्थ्य, शिक्षा, प्रशासन, कृषि लगायत सबै समूहका कर्मचारीको सेवा प्रवाहलाई चुस्त बनाउन र अनुशासन कायम गर्न माग गरिएको छ ।

यसैबीच, कांग्रेस रुपाले पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग सूचना मागेको छ । विभिन्न ८ बुँदे ध्यानाकर्षणपत्र सहित सूचना माग गरिएको हो । चालू आर्थिक वर्ष २०७९÷०८० को खर्च र आन्तरिक आम्दानी, प्रशासनिक खर्च र स्वीकृत कर्मचारीको दरबन्दीबारे सूचना मागिएको हो ।

पालिकाको आन्तरिक स्रोतबाट तलब पाउने गरी भर्ना गरिएका कर्मचारी संख्या, पद र तलव स्केल तथा पदाधिकारीको सवारी साधनको वार्षिक मर्मत खर्च र इन्धन खर्च, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत पालिकाले प्राप्त गरेको रकम र सो शीर्षकमा भएको खर्चको विवरण र गाउँपालिकाको अध्यक्षको एकल तोक आदेशमा यो कार्यकाल र अघिल्लो कार्यकालमा दिइएको योजना र भुक्तानीको एकमुष्ट रकमको विवरण मागिएको छ ।

ध्यानाकर्षण पत्र बुझाउन सभापति न्यौपाने सँगै कांग्रेस नेता प्रकाश मोहन खनाल, गण्डकी प्रदेश सदस्य अप्सरा श्रेष्ठ, महाधिवेशन प्रतिनिधि गीमाया गुरुङ, क्षेत्र नम्बर १ (क) का सह–सचिव विष्णु गुरुङ, प्रदेश (क) सदस्य भुला केसी, पूर्व गाउँपालिका सभापति सु. तुलबहादुर गुरुङ, पूर्व इलाका सभापति नोयन गुरुङ, रुपा ६ का सभापति बलाराम गुरुङ, नेपाली कांग्रेस रुपाका नेता अर्जुन अधिकारी लगायतको टोलि पुगेको थियो ।