कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी

काठमाडौं, बैशाख १३ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बसिरहेको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा आज पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायतले चुनावमा पार्टी पराजित हुनुको कारणबारे आ(आफ्नो धारणा राख्ने कार्यक्रम रहेको बताइएको छ ।

चैत ९ गतेदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यको भनाइ राख्ने पालो सकिएपछि पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको धारणा राख्ने क्रम शुरु भएको हो । बैठकमा वरिष्ठ नेता पौडेल पक्षीय केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवाको अक्षमताका कारण निर्वाचनमा पार्टी पराजित भएको आरोप लगाएका छन् । तर देउवा पक्षीय सदस्यहरुले पराजयको जिम्मेवारी सामूहिक रुपमा लिनुपर्ने बताउँदै आएका छन् ।