कांग्रेस–एमाले मिल्ने संकेत, दोस्रो तहका नेताले थाले सम्बाद

पोखरा, असार ७ ।
नेपालमा पुनः नयाँ राजनीतिक समीकरणको प्रयास थालिएको छ । कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुले नयाँ समीकरणको रुपरेखा कोर्न कम्मर कसेर लागेको देखिन्छ । कांग्रेस सभापति शेरबहादुर देउवा यतिबेला सिंगापुरमा छन् ।

साना दलहरुको समीकरण बन्दा राजनीतिक अस्थिरता भएको भन्दै दुई ठूला दल मिलेर लामो समय सत्ता चलाउने प्रयास उनीहरुले गरेको बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेबाहेकका वाम शक्ति मिलाएर असार ४ मा समाजवादी मोर्चा गठन गरेका छन् । यी घटनाक्रमले कांग्रेस र माओवादी आपसमा संशकित भएको बेला एमालेले नयाँ गठबन्धनको पहल तीव्र बनाएको छ ।

एमालेसँग संवादमा कांग्रेसका एक नेताका अनुसार एमालेका नेताहरूले नै कांग्रेस–एमाले गठबन्धन बनाउन पहलकदमी लिइरहेका छन् । देउवा सकारात्मक नभए तत्काल गठबन्धन सम्भव नहुने र कांग्रेसको इतर समूह पनि सामेल नभए नयाँ गठबन्धन बलियो नहुने ठानेर एमालेले कांग्रेसका सबै पक्षसँग संवाद गरिरहेको छ । एमालेले कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गगन थापा र संस्थापन पक्षका नेता ज्ञानेन्द्रबहादुर कार्कीसँग विभिन्न चरणमा बार्ता गरिरहेको छ ।
–कान्तिपुर