कांग्रेसले गर्यो गण्डकी प्रदेशको सदन अवरुद्ध

पोखरा, साउन ३ ।
अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गण्डकी प्रदेशसभा अबरुद्ध गरेको छ । विहिबार प्रधानमन्त्रीको सम्बोधन लगत्तै बसेको दोश्रो बैठक काँग्रेसले अवरुद्ध गरेको हो । चिकित्सा शिक्षा विधेयकमा सुधारको माग राख्दै विगत २० दिनदेखी अनसनरत डा. गोविन्द केसीको समर्थनमा कांग्रेसले सदन अवरुद्ध गरेको हो ।

प्रदेशसभामा बिहिबार ३ वटा बैठक सञ्चालन हुने कार्यसूची कार्यव्यवस्था परामर्श समितिले तय गरेको थियो । पहिलो कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशलाई सम्बोधन गर्ने एजेण्डा रहेको थियो । तोकिएको समयभन्दा झन्डै साढे २ घण्टा ढिलो आएका ओलीले सवा घण्टासम्म समय लिए । त्यसपछि साढे ५ बजेसम्मलाई सदन स्थगित गरियो ।

दोश्रो बैठकमा प्रदेशसभा व्यवस्थापन सम्बन्धिको विधेयक टेबुल गर्ने कार्यसूची रहेको थियो । सभामुख नेत्रनाथ अधिकारीले दोश्रो बैठक सञ्चालन गर्न लाग्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु उठेर विरोध गरे । सभामुख अधिकारीले बोल्ने पालो दिएपछि प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले डा. केसीको जीवनरक्षाको माग गरे ।

उनले मानविय संवेदना नदेखाई अपहरण शैलिमा काठमाण्डौं लगिएको भन्दै निन्दा गरे । यस्तै, कांग्रेसले सभामुख र उपसभामुख एउटै दलको हुन नपाउने संवैधानिक व्यवस्थाप्रति पनि ध्यानाकर्षण गराएको छ । गण्डकी प्रदेशमा नेकपाका तर्फबाट तत्कालीन माओवादी सांसद नेत्रनाथ अधिकारी सभामुख र तत्कालीन एमालेकी सांसद सिर्जना शर्मा उपसभामुख छन् । कांग्रेसले सदन अवरुद्ध गरेसँगै बैठक शुक्रबारसम्म स्थगीत गरिएको छ ।

File Photo