कांग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता : शशांक

 

दमौली, साउन २२ ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताएका छन् ।

नेपाली कांग्रेस तनहुँले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई एकजुट बनाउने नेतृत्व आवश्यक रहेकामा जोड दिए ।

‘कांग्रेसलाई नयाँ दिशा दिनसक्ने सभापति अबको महाधिवेशनबाट निर्वा्चित हुनुपर्छ’–महामन्त्री कोइरालाले भने–‘त्यसका लागि कार्यकर्ताले आजैदेखि मानसिकता बनाउनुपर्छ ।’
पार्टीभित्र रहेको गुट–उपगुट अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउने नेतृत्व कार्यकर्ताले रोज्नुपर्ने उनले बताए । ‘मैले यसो भनिरहँदा पार्टी सभापति शेरबहादुरको विरोध गरेको होइन’–उनले भने–‘तर, पार्टीभित्र नेतृत्व परिवर्तनको खाँचो छ । नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने पक्षको व्यक्ति म हुँ ।’

कांग्रेसलाई कसैले पनि हराउन नसक्ने दाबी गर्दै महामन्त्री कोइरालाले हारे आफ्नै कारणलेमात्र हार्ने ठोकुवा गरे । उनले पार्टीको प्रदेश संरचना गठन हुन बाँकी रहेकाले प्रदेशको संरचना टुंगो लगाएपछि पार्टीको महाधिवेशन हुने जानकारी गराए । ‘अहिले प्रदेशमा चुनाव गराएरभन्दा पनि सर्वसम्मत प्रक्रियाबाट नेतृत्व चयन गर्नेतर्फ पार्टीमा छलफल भइरहेको छ’–उनले भने ।

उनले मातृशोकमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई बुधबार नै भेटी समवेदना प्रकट गरेका छन् । कोइरालाले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन् । (रासस)