कांग्रेसमा देउवालाई झन् सशक्त बनाईँदै

काठमाडौं, पुस २५ ।
चुनावी हारपछि नेपाली कांग्रेसका युवा नेताहरुले नेतृत्व हस्तान्तरणको बहस चलाएका छन् । तर, संस्थापन समूहले भने पार्टी सभापति शेरबहादुर देउवालाई अझ शक्तिशाली बनाउने प्रयास थालेका छन् । देउवा समूहले पार्टीलाई फेरि सामुहिक नेतृत्व प्रणालीबाट अध्यक्षात्मक प्रणालीमा फर्काउने प्रस्ताव बहसमा ल्याएको छ । केन्द्रीय सदस्य बालकृष्ण खाँडले भने, ‘कांग्रेस अहिले सामूहिक नेतृत्वमा चलेको छ, पार्टीको यो स्ट्रक्चरलाई बदल्ने हो कि ? फेरि वीपी कोइराला, किशुनजीको पालामा जस्तो अध्यक्षात्मक प्रणालीमा जाने हो कि भन्ने बहस प्रारम्भ भएको छ ।’
खाँडले भनेजस्तो अध्यक्षात्मक प्रणालीमा जान १४ औं महाधिवेशन कुनुपर्ने हुन्छ । तर, सभापतिलाई थप अधिकार दिन भने महाधिवेशन नै कुर्नुपर्दैन, जसको प्रयास सुरु भएको छ । प्रदेश र प्रतिनिधिसभा चुनावमा नराम्रो हार व्यहोरेको कांग्रेसमा चुनावी समीक्षाका लागि केन्द्रीय कार्यसमिति बोलाउन माग भइरहेको छ । युवा नेताहरुले त महासमिति बैठक र विशेष महाधिवेशन नै बनाउनु पर्ने माग गरेका छन् । तर, केन्द्रीय कार्यसमितिको बैठकसमेत तय भएको छैन । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले छिट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने नेताहरुले बताएका छन्, जुन बैठकले महासमिति बैठकको मिति तय गर्न सक्छ । त्यो महासमिति बैठकमा विधान संशोधन गरेर सभापतिलाई थप अधिकार दिने देउवा पक्षको तयारी छ ।