कांग्रेसको समानुपातिकमा थपिने भाग्यमानी को हुन् ? (नयाँ सूचीसहित)

काठमाण्डौं, फागुन २ ।
नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक सांसदको सूची सच्याएको छ । पाँच वटा राजनीतिक दलले प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएकोमा तीन दलको सूची गलत भेटिएको थियो । सूचीमा समावेशी समूहको प्राथमिकता क्रम लगायतका आधारमा उम्मेदवार छनोट नभएकाले नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपालाई त्रुटि सच्याउन बुधबारसम्मको समय दिइएको थियो। काँग्रेसले मोहनप्रसाद पाण्डेको नाम हटाई रामबहादुर विष्टको नाम राखेको छ भने दीपशिखा शर्माको नाम हटाई रंगमती शाहीको नाम बुझाएको पार्टी केन्द्रिय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।
नाम थपिएका विष्ट र शाही दुबै पिछडिएका क्षेत्रबाट परेका हुन् । यसअघिको सूचीमा नाम रहेका पाण्डे र शर्मा दुवै खसआर्य कोटामा परेका थिए । कांग्रेसले यसअघिको सूची सच्याएर आजै आयोगमा बुझाउँदैछ । आयोगले दलहरुलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राप्त गरेको समानुपातिक तर्फको सिटअनुसार सूची बुझाउन दोस्रो पटक दिएको समय आज सकिँदैछ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माघ २९ गते बसेको बैठकले समानुपातिक स्थानमा नामावली टुंगो लगाई सोही दिन आयोगमा सूची बुझाएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ कांग्रेसले ४० स्थान प्राप्त गरेको छ ।
सूची सच्याएपछि कांग्रेसका समानुपातिक सांसद
खस आर्य–बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, रामबहादुर विष्ट, सुजाता कोइराला, पुष्पा भुसाल, डा डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी, रंगमती शाही,
आदिवासी जनजाति–बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा, दिव्यमणि राजभण्डारी , ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा
मधेसी–विनोद चौधरी, स्मृतिनारायण चौधरी, नगेन्द्रकुमार राय, सीतादेवी यादव, चित्रलेखा यादव, मीनाक्षी झा
दलित–मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, प्रकाश रसाइली, सुजाता परियार, लक्ष्मी परियार, विमला नेपाली
थारु–पद्मनारायण चौधरी, पार्वता डिसी चौधरी, नमिताकुमारी चौधरी
मुस्लिम–अतहर कमाल मुसलमान, सर्वतआरा खानम