काँग्रेस सुधार्न जे पनि गर्छु–प्रकाशमान

काठमाडौं, पुस १० ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसलाई सुधार्न आँफुले जस्तो कदम परेपनि चाल्न तयार रहेको बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता सिंहले काँग्रेस अप्ठेरो मोडमा रहेकाले सुधारका लागि आफु अघि सर्ने बताए । उनले चुनाव अघि नै पार्टी सभापति शेरबहादुर देउवालाई भावि प्रधानमन्त्री अघि सार्न सुझाव दिँदा पनि नमानेको बताएका छन् । ‘कांग्रेसको अवस्था अत्यन्तै एन्टिकरेन्ट छ, तपाईंले सरकारको नेतृत्व गरेपछि कांग्रेसमा सन्तोषजनक फिलिङ छैन, कांग्रेसलाई समर्थन गर्नेहरुको पनि चित्त बुझेको छैन यसमा बिचार गर्नुपर्छ है पार्टी सभापति ज्यू भनेर मैले भनेको थिएँ,’ कार्यक्रममा उनले भने, ‘उहाँले के गर्नुपर्छ भन्नुभयो । मैले गिरिजाबाबुले किसुनजीलाई अघि सारेको जस्तै तपाईंले पनि कसैलाई सार्नुर्पयो ।’
तर आफूले दिएको यो सुझावमा देउवाले ध्यान नदिएको सिंहको भनाइ छ । कांग्रेस मृत अवस्थामा पुगेको भन्दै धेरै गुनासा र सुझावहरु आएपनि बेवास्ता गर्दा चुनावको नतिजामा असर परेको उनको ठहर छ । ‘एउटा अन्तरक्रियामा ज्यूँदो कांग्रेस अहिले मृत अवस्थामा गइरहेको बेला तिमीहरुले के आवाज उठायौ भनेर भन्दा त म छाँगाबाट खसेजस्तो भएँ,’ प्रकाशमानले भने, ‘यस्तो अब्जरभेसन पिपुलले गरिरहेको छ । कांग्रेसलाई ब्लाइन्डली सपोर्ट गर्नेहरुले नै यस्तो भनेपछि त कुरा बिग्रिएकै रहेछ नी त । त्यो त चुनावको रिजल्टले पनि देखायो ।’
वर्तमान नेतृत्व ठीक नहुँदा कांग्रेसमा थुप्रै समस्या देखिएको उनले बताए । पार्टी नेतृत्व ठीक भएन, कांग्रेसलाई सुधार ल्याऊ भन्ने अहिलेको चुनावको अभिमतले पनि देखाएको उनले बताए । अब कांग्रेसलाई सुधार ल्याउने काममा जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने उनले बताए । उनले भने, ‘जस्तोसुकै कदम उठाउन परेता पनि यो पार्टीलाई फेरि हाम्रा आदरणीय संस्थापक नेताहरुले अत्यन्तै लोकप्रिय पार्टीको रुपमा कांग्रेसलाई परिचित गराउनुभएको थियो, त्यही स्टाटसमा लग्नका लागि आफ्नो ध्यान केन्द्रित गर्ने छु ।’ अन्यथा आफूले जतिसुकै राम्रा कुरा गरे पनि र जतिसुकै विकास गरे पनि पार्टी नै ठीक भएन भने अर्थ नहुने उनले बताए ।