काँग्रेस महासमिति बैठक पोखरामा गर्न माग

पोखरा, साउन ४ ।
नेपाली काँग्रेस कास्कीले पार्टीको महासमिति बैठक पोखरामा गर्न माग गरेको छ । कास्की काँग्रेसको शुक्रबारको बैठकले महासमिति बैठक पोखरामा गर्न माग गर्दै केन्द्रीय कार्य समितिलाई पत्र पठाउने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
बैठकमा सरकारले अधिनायकवादी र जनविरोधि क्रियाकलाप गरेको आरोप लगाउँदै त्यसको विरुद्ध साउन १५ गते पोखरामा गरिने प्रदर्शनलाई शशक्त र प्रभावकारी बनाउन जिल्ला कार्य समितिका पदाधिकारी एवं सदस्यहरुलाई ३३ वटै वडामा खटाउने निर्णय गरेको छ ।
बैठकले वीपी स्मृति दिवसमा साउन ६ गते आइतबार गर्ने रक्तदान कार्यक्रममा सहभागीता जनाउन सवैलाई आग्रह गरेको छ । बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।