काँग्रेस प्रबक्ता भन्छन्–साउन १५ मा इंगेजमेण्ट, फागुन १५ मा जन्ति लिएर आउछौं

काठमाण्डौं, साउन १५ ।
सरकारविरुद्ध देशभर भएको विरोध प्रदर्शनमा कार्यकर्ताको सहभागितालाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेस उत्साहित देखिएको छ । तर, अगाडि प्रश्न तेर्सिएको छ–अब के गर्ने ?

डा. गोविन्द केसीको अनसनका कारण सरकार चर्को दबावमा परेका बेला कांग्रेसले दबावमूलक आन्दोलन घोषणा गरेको थियो । सरकार संविधानको बर्खीलापमा अघि बढ्न खोजेको भन्दै भ्रातृ संगठनलाई सडकमा पठाएको कांग्रेसले मंगलबार सबै जिल्लाका सदरमुकाममा विरोध प्रदर्शन गरेको थियो ।

मंगलबार पार्टीका शीर्षनेताहरु नै गृहजिल्लामा पुगेर प्रदर्शनको अगुवाई गरेका थिए । निषेधित क्षेत्र तोक्ने सरकारको निर्णयको बचाउ गर्ने क्रममा कांग्रेस माइतीघर मण्डलामा सीमित भएको भनि प्रधानमन्त्रीको खिसिटिउरीलाई मंगलबारको प्रदर्शनले जवाफ दिएको काँग्रेस नेताहरु बताउँछन् ।

कांग्रेस नेताका अनुसार मंगलबारको कार्यक्रम आन्दोलन नभई विरोध प्रदर्शन थियो, जसको उद्देश्य सरकारलाई खबरदारी गर्नु मात्र हो । त्यसैले आगामी कदम पनि सरकारमै भर पर्छ । ‘साउन १५ मा गरेको इन्जेगमेन्टलाई सरकारले बुझेन भने फागुन १५ मा राम्रै जन्ती लिएर आउँछौं’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

प्रवक्ता शर्माका अनुसार कांग्रेसको पदाधिकारी बैठक छिट्टै बस्नेछ, जसमा आगामी रणनीतिबारे पनि छलफल हुनेछ । सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न दबाव दिने कांग्रेसको तयारी छ ।

सभामुख र उपसभामुख दुबै नेकपाका छन् । नेकपाका नेताहरु चुनाव हुँदा दुबै फरक पार्टी भएकाले र अहिले दलीय जिम्मेवारीमा नभएको तर्क गरेका छन् ।

कांग्रेसले लगातार यो मुद्दा उठाएपछि सभामुख कृष्णबहादुर महराले अदालतमा विचाराधीन विषयमा संसदमा बहस गर्न नमिल्ने रुलिङ गरेका छन् ।