काँग्रेस नेता सिंहले मागे देउवाको राजिनामा

काठमाडौं, पुस १ ।
कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वका कारण पार्टीले पराजय भोगेको भन्दै सभापति शेरबहादुर देउवाको राजीनामा माग गरेका छन् । ‘पार्टीको झोला बोक्ने तर पार्टीलाई दुःख परेका वेलामा असहयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ,’ घुमाउरो शैलीमा देउवाको राजीनामा माग्दै सिंहले भने, ‘राम्रो सिट नआएपछि संसद्ले गरेका राम्रा कामलाई समर्थन गर्दै नराम्रो कामको खबरदारी गरी जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्नुपर्छ । विश्वमा जुन नेताको नेतृत्वमा चुनावमा गयो, त्यो पार्टीले हारे राजीनामा दिने चलन छ, नेपालमा पनि त्यो संस्कारको विकास गर्नुपर्छ ।’
प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी कांग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद् भएको सिंहले बताए । आफ निर्वाचित भएको काठमाडौं–१ को विकासका लागि आफू सदैव क्रियाशील रहने प्रतिबद्धता जनाउँदै उनले तीनपटक प्रतिनिधिसभामा जाने अवसर दिएकोमा मतदातालाई धन्यवादसमेत दिए ।
कांग्रेस काठमाडौँ–१ ले शुक्रबार गरेको भेटघाट तथा धन्यवाद कार्यक्रममा नेता सिंहले इतिहास र जनताको विश्वास बोकेको पार्टीको पक्षमा सोचेजस्तो नतिजा नआउनु दुःखद् भएको बताए । ‘देशमा भएका हरेक आन्दोलनको नेतृत्व गरेको पार्टीले हारेको छ, अब पार्टीभित्र भएका कमीकमजोरीलाई सच्याएर आगामी निर्वाचनमा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउनुपर्छ,’ उनले भने ।