काँग्रेस नेता चालिसेको कटाक्ष–प्रधानमन्त्री औषधीको साइड इफेक्टले बर्बराउन थाले (भिडियो)

पोखरा, साउन १५ ।
नेपाली काँग्रेसका नेता देवराज चालिसेले सरकारले आफ्नो चिहान आफै खनेको बताएका छन् । मंगलबार पोखरामा काँग्रेसले गरेको सरकार विरोधी प्रदर्शनलाई सम्बोधन गर्दै उनले काँग्रेसभन्दा बढी सरकारकै गतिविधीले सरकार धरासायी बनेको टिप्पणी गरे । उनले प्रधानमन्त्री केपी शर्मा प्रति कटाक्ष गर्न भ्याए ।

चालिसेले नेपालका हरेक निकायमा कम्युनिष्टको बहुमत रहेको भन्दै जनविरोधी गतिविधि बढेको आरोप लगाए । ‘टाउको कम्युनिष्ट, लुगा लोकतन्त्र र पेट भ्रष्टाचारीको आवरण बोकेर उभिएको यो कम्युनिष्ट हो की हैन ? विप्लव र सीपी गजुरेलको आफ्नै धारणा होला, उनले भने–तर जनताको नजरमा यो सरकार भ्रष्टाचारी, कुलंघार र जनविरोधी हो भन्ने प्रमाणित भएको छ ।’

उनले सत्ता र सरकार फरक भएको भन्दै सत्ताको दुरुपयोग नगर्न सचेत गराए । ‘सरकार र सत्ता फरक हो । सरकार कम्युनिष्टको छ हामीलाई थाहा छ । तर सत्ता जनताको हो, सरकारले बुझ्नुपर्छ, उनी भन्छन्–न्यायलयमा आक्रमण गरेको छ । संबैधानिक निकायमा धावा बोलेको छ । देशलाई सम्पूर्ण रुपमा कब्जा गर्दैछ । यही गतिविधीले सरकारलाई सिध्याउँछ ।’