काँग्रेस केन्द्रीय समिति बैठक तत्काल बोलाउन पौडेलको माग

काठमाडौं, माघ १ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीको केन्द्रीय समिति बैठक तत्काल नबोलाए आफ्नै हिसाबमा पार्टी रुपान्तरण थाल्ने चेतावनी दिएका छन् । सोमबार बिहान नेता पौडेल र महामन्त्री शशांक कोइरालाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग यस्तो माग गरेका हुन् । भेटमा कृष्ण सिटौला र विमलेन्द्र निधि समेत सहभागी थिए । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस कमजोर देखिएपछि युवा नेताहरुले पार्टीको रुपान्तरण गर्नुपर्ने आवाज उठाइरहेका बेला पौडेल र कोइरालाले यस्तो माग गरेका छन् । उनीहरुले पार्टी केन्द्रीय समिति बैठक तत्काल बोलाउन आग्रह गर्दै विधि र विधान विपरीत गठन भएका संसदीय समिति र कार्यसम्पादन समिति विघटन गर्न समेत माग गरे ।
पौडेलले संकटमा रहेको पार्टीलाई नवजीवन दिनका लागि भेला बोलाउन सभापति देउवालाई आग्रह गरे। जवाफमा देउवाले सल्लाह गरेर बैठक बोलाउने तयारीमा रहेको बताएका छन् । देउवाले पार्टीलाई सुदृढ गर्दै अघि बढाउनुको विकल्प नभएको आफूले महसुस गरेको भन्दै पौडेल पक्षलाई आश्वस्त पारेका थिए । यसअघि गत साता नेता पौडेल निकट केन्द्रीय सदस्यहरुले छुट्टै भेला गरेका थिए । भेलाले प्रतिनिधि र प्रदेशसभा निर्वाचन समीक्षाका लागि तत्काल केन्द्रीय समिति बैठक बोलाउन सभापति देउवालाई आग्रह गर्दै भेटेर कुरा गर्ने जिम्मा पौडेललाई दिएको थियो ।
भेलाले सभापति देउवाले बैठक बोलाउन ढिलाइ गरे हस्ताक्षर अभियान चलाउने निष्कर्ष समेत निकालेको थियो । उनीहरुले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारको टुंगो केन्द्रीय समितिबाटै लगाउनुपर्ने माग गरेका थिए ।