काँग्रेस केन्द्रिय बैठकमा नेतृत्वप्रति आक्रोश (के भने देउवाले ?)

काठमाडौं, माघ ४ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भोगेको पराजयको विषयमा समीक्षा गर्न केन्द्रीय सदस्य र महासमिति बैठक बोलाउन आफू तयार रहेको बताएका छन् । बालुवाटारमा चलेको केन्द्रीय समिति बैठकमा आफ्नो धाराणा राख्दै देउवाले निर्वाचनको समीक्षा गर्न छिट्टै केन्द्रीय समिति र महासमिति बैठक बोलाउने प्रतिबद्धता व्यक्त गरे । देउवाको नेतृत्वका कारण निर्वाचनमा निराशाजनक नजिता आएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र युवा नेताहरुले केन्द्रीय समिति र महासमिति बैठक माग गर्दै आएका थिए । पार्टी संघीय संरचना अनुसार विधान परिवर्तन गर्दै अघि बढ्ने भन्दै देउवाले आजको बैठकमा राष्ट्रियसभामा उम्मेदवार तय गर्ने विषयमा सुझाव दिन केन्द्रीय सदस्यहरुसँग आग्रह गरे ।
के भने देउवाले ?
नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण नेपाली कांग्रेसकै नेतृत्वमा पूरा भएको छ । संविधान निर्माणपछि अन्ततस् तराई मधेसमा उत्पन्न समस्यालाई समाधान गरी निर्वाचनको प्रक्रियामा सबै पक्षलाई सहभागी गराउन सक्नु कांग्रेसको नेतृत्वका सरकार र सिंगो कांग्रेस पार्टीको सफलता हो भन्ने मेरो ठहर छ । लामो संक्रमणकाल अन्त्य गर्न प्राप्त सफलताका लागि म प्रधानमन्त्री एवं पार्टी सभापतिको हैसियतले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र साथीहरुमा बधाई ज्ञापन गर्न चाहन्छु । सम्पन्न निर्माणको परिणाम हाम्रो पार्टी अनुकूल आउन सकेन । पराजयको पछिल्तिर हाम्रा अन्य जे जे कारण होलान् ती सबैका सन्दर्भमा समय लिएर व्यापक रुपले गम्भीर समीक्षा÷छलफल एवं अन्तरक्रिया गर्न जरुरी छ । सभापतिका नाताले सम्पूर्ण साथीहलाई म खुला ढंगले समीक्षामा सहभागी हुन आग्रह गर्दछु । निकट भविष्यमा पार्टीको महासमितिको बैठक बस्नेछ । राज्यको पुनर्संरचना अनुसार पार्टीको विधानमा संशोधनका साथै नयाँ रक्तसञ्चार हुनेगरी पार्टीको आगामी रणनीति तय गर्न उक्त महासमितिले निर्देशन गर्नेछ । मुलुकको संविधान अनुरुपको पार्टी संरचनामा अत्यावश्यक हेरफेर गर्न पार्टीको विधान संशोधन हामीले गर्न जरुरी छ । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १० गते उम्मेदवार चयन र चुनावको तयारीमा केन्द्रित हुनुपर्नेछ । अतः साथीहरुबाट यसमा केन्द्रित रहेर राय सुझाव अनुरुप हामी अघि बढ्नेछौं । तत्काल केही दिनमै केन्द्रीय समिति र कार्यसमितिको फेरि अर्को बैठक बोलाई पुनस् छलफल र लामो बहस गरिनेछ ।
गच्छदार विशेष आमन्त्रित
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चुनावी हार र राष्ट्रियसभाको निर्वाचनमै केन्द्रित भएको छ । विशेष आमन्त्रित सदस्यमा रुपमा विजयकुमार गच्छदार उपस्थित थिए । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, चन्द्र भण्डारी, कल्याण गुरूङ, दीपक गिरी र शंकर भण्डारीले आफ्नो धारणा राखेका छन् । बैठक निर्वाचन समीक्षाभन्दा पनि राष्ट्रियसभाको उम्मेदवारको विषयसँग गाँसिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ’समीक्षाको लागि एक साताजति लाग्ने भएकाले आज स्थगित भएर पछि बस्नेछ। आज भने राष्ट्रियसभाको विषयमै बैठक केन्द्रित छ,’ उनले भने, ’युवा नेताहरूले पार्टी रूपान्तरलाई मुख्य रूपमा उठाइरहनुभएको छ ।’