काँग्रेस कास्की २ का सभापतिहरु एकै ठाउँमा

पोखरा, मंसिर ६ ।
नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ का वडा सभापतिहरुको भेला मट्टिखानमा भएको छ । दुई नम्बर क्षेत्रभित्रका ११ वटा वडाका सभापतिहरु एकै ठाउँमा भेला भएर छलफल गरेका हुन् । छलफलमा क्षेत्रीय सभापतिहरु माधवप्रसाद बास्तोला ‘मधु’ र विजयराज आचार्यले गुट र उपगुटको पछि लाग्दा पार्टीको संगठन कमजोर भएको टिप्पणी गरे । उनीहरुले आगामी दिनमा वडासँग समन्वय गर्दै संगठन शुद्धृढीकरण र विस्तारका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

दुई दिनसम्म भएको भेलामा वडा सभापतिहरुले पार्टीलाई गुट उपगुटबाट बाहिर राखेर पार्टीलाई चुस्त दुरुस्त बनाउने र संगठन परिचालनमा जोड दिने निर्णय गरेको छ । यस्तै पार्टी विधान अनुसार संगठन निर्माण र परिचालन, कमीकमजोरी सुधार गरि जनपक्षीय हिसावले पार्टी सञ्चालन गर्ने निर्णय पनि भएको छ । प्रतिपक्षी पार्टीले जितेका स्थानीय तह र निर्वाचन क्षेत्रमा अनुगमनको भूमिकामा काम गर्ने र गलत कामको पर्दाफास गर्ने निर्णय पनि क्षेत्रीय भेलामा गरिएको वडा नम्बर ७ का सभापति नवीन बरालले जानकारी दिए ।

‘केही नेताको पछि लाग्दा पार्टी संगठन कमजोर भैरहेको छ । भ्रातृ संगठनहरु पनि चुस्त रुपमा काम गर्न सकेका छैनन, उनले भने–आगामी दिनमा पूराना सबै कमजोरी केलाउँदै नयाँ शिराबाट अघि बढ्ने निर्णय भएको छ । यसले पार्टीलाई पुर्नजीवन दिने अपेक्षा गरेका छौं ।’ उनका अनुसार क्षेत्रभित्रका सबै इकाईमा कार्यकर्ता भेला र अनुशिक्षण कार्यक्रम सञ्चालन गर्ने भेलाले निर्णय गरेको छ ।

भेलामा वडा नम्बर ४ का सभापति गोविन्द पराजुली, ७ का नवीन बराल, ८ का सुवास सिग्देल, ९ का उमा ठकुरी, ११ का मोहन बास्तोला, १७ का देवराज आचार्य, २० का तिलबहादुर गुरुङ, २१ का केवल गिरी र ३३ का दिनेशराज आचार्य सहभागी थिए ।