काँग्रेस कास्कीले तोक्यो पाँचवटै स्थानीय तहमा संयोजक (कुन तहमा को ?)

पोखरा, मंसिर ७ ।
नेपाली काँग्रेस कास्कीले जिल्लाका पाँचवटै स्थानीय तहका लागि संयोजक टुंग्याएको छ । स्थानीय तहमा मंसिरभित्रै कार्यशाला गर्ने तयारीमा रहेको काँग्रेसले त्यसकै लागि संयोजक तोकेको जनाएको छ ।

जसअनुसार पोखरा महानगरको संयोजकमा माधव बास्तोला मधुलाई संयोजक बनाईएको छ भने विजयराज आचार्य सहसंयोजक छन् । बास्तोला साविक क्षेत्र नम्बर २ का सभापति हुन् भने आचार्य क्षेत्र नम्बर ३ का सभापति ।

यस्तै, मादी गाउँपालिकामा क्षेत्र नम्बर १ का सभापति बृजमान गुरुङलाई संयोजक बनाईएको छ भने अन्नपूर्ण गाउँपालिकामा क्षेत्रीय सभापति पोषनाथ शर्मा संयोजक बनेका छन् । रुपा गाउँपालिकामा देवेन्द्र रानाभाट र माछापुच्छ्रे गाउँपालिकामा लक्ष्मी पाण्डे संयोजक बनेका छन् ।

रानाभाट जिल्ला कार्यसमितिको मनोनित सचिव हुन् भने पाण्डे निर्वाचित कोषाध्यक्ष । सबैजसो स्थानीय तहको जिम्मेवारी क्षेत्रीय सभापतिलाई दिईएको छ । कार्यशालामा सबै निर्वाचनका उम्मेद्वार, इकाई समिति, भ्रातृ तथा शुभेच्छुक संघ÷संस्थाका पदाधिकारी सहभागि हुने काँग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए । बुधबार बसेको जिल्ला समितिको बैठकले जिम्मेवारी बाँडफाँड गरेको हो ।