काँग्रेस कास्कीमा महासमिति चुनाव (सभापतिको सर्वाधिक मत, पुर्व सांसद पराजीत)

प्रकाश ढकाल
पोखरा, असोज २० ।
नेपाली काँग्रेस कास्कीबाट महासमिति सदस्य टुंगिएको छ । साविक १ नम्बर क्षेत्र र क्षेत्र नम्बर २ को महिलातर्फ मतदान भएको थियो भने बाँकी सर्वसम्मत चयन भएका हुन् । पूरानै संरचनाका आधारमा निर्वाचन गरेर सदस्य चयन गरिएको हो ।

क्षेत्र नम्बर १ मा काँग्रेस कास्कीका सभापति कृष्ण केसी सर्वाधिक मत सहित विजयी भएका छन् । उनले १ सय ६२ मत पाए । पुर्व मन्त्री यज्ञबहादुर थापाले १ सय ४७, बुद्धीमान गुरुङ १ सय २८ र गिरिराज गौतमले १ सय १६ मत ल्याएर विजयी भएका छन् । महिलातर्फ महिला संघ कास्कीकी सभापति कोपिला रानाभाट विजयी भएकी छिन् । उनले १ सय ४ मत पाएकी हुन् ।

प्रतिश्पर्धी कास्की काँग्रेसका सचिव सुदीपमोहन भट्टराईले ८८ मत पाए भने तिलक रानाभाटले १ सय ८ मत पाए । महिलातर्फको प्रतिश्पर्धी चन्द्रावति पौडेलले ९२ मत पाएकी क्षेत्रीय सभापति बृजमान गुरुङले जानकारी दिए ।

क्षेत्र नम्बर २ बाट महिला सदस्यका लागि भएको चुनावमा पूर्व सांसद शारदा पौडेल पराजीत भईन् । उनलाई खेमकुमारी बराल ३१ मतान्तरले पराजीत गरेकी हुन् । १ सय २८ मतदातामध्ये १ सय १३ मत खसेको थियो । बरालले ७२ मत पाउँदा पौडेलले ४१ मत मात्रै पाईन् ।

यो क्षेत्रबाट खुला सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । बाबुराम आचार्य, ऋषिराम काफ्ले, गुरु बराल र कृष्ण कार्की सर्वसम्मत चयन भएका क्षेत्रीय सभापति माधवप्रसाद बास्तोलाले जानकारी दिए ।

क्षेत्र नम्बर ३ मा पूरै सदस्य सर्वसम्मत चयन भएका छन् । खुलातर्फक देवराज चालिसे, रामजी कुवँर, शोभियतबहादुर अधिकारी र केशर निर्दोशी तथा महिलातर्फ सांसद बृन्दा राना चयन भईन् ।

यसअघि विरेन्द्रनारायण विजुक्छे, डा. रामचन्द्र पोख्रेल, दुर्गा सुनार र हारुन खानले खुला सदस्यमा दावेदारी देखाएका थिए भने महिलातर्फ शकुन्तला कोइराला आकांक्षी थिईन् । सर्वसम्मत गर्नका लागि बाँकी आकांक्षीहरुले दावेदारी प्रश्तुती नगरेका क्षेत्रीय सचिव शंकर बास्तोलाले जानकारी दिए ।

क्षेत्र नम्बर ४ मा २ बर्षअघि नै महासमिति सदस्य छनौट भैसकेका छन् । शुक्रराज शर्मा, रामचन्द्र त्रिपाठी, आईबहादुर गुरुङ र दीपक गुरुङ खुलातर्फबाट महासमिति सदस्य भएका छन् भने हरिमाया गुरुङ महिला सदस्य बनेकी क्षेत्रीय सभापति पोषनाथ शर्माले जानकारी दिए ।

निर्वाचित सदस्यहरु आगामी मंसिरमा हुने महासमिति बैठकमा सहभागि हुनेछन् । अधिवेशन सकिएको लामो समय भएपनि महासमिति सदस्य चयन भएको थिएन । अहिले केन्द्रले महासमिति बैठक डाक्ने तालिका सार्वजनिक गरेपछि चयन गरिएको हो ।