काँग्रेस उम्मेदवारलाई भोट माग्दै रोवोर्ट

पोखरा, मंसिर ५ ।
सडक छेवैमा रोवोर्ट छ । मान्छेको भेला हुन्छ । मान्छेहरु रोवोर्टलाई हेर्न थाल्छन् । जव रोवोर्टको आँखासँग मान्छेको आँखा जुध्छ, रोवोर्टले भन्छ ‘जय नेपाल’ । त्यसपछि नजिकका मान्छेसँग हात मिलाएर चुनावी प्रचार भट्याउन थाल्छ । कास्कीको भरतपोखरीमा मंगलबार नौलो दृष्य देखियो । कास्की क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश (क) मा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका गुरु बरालले रोवोर्टलाई साथ लिएर चुनावी प्रचार गरिरहेका छन् । सेन्सर जडित रोबोर्ट मान्छे भएको ठाउँमा जान्छ । अनि उनीहरुसँग आसन्न निर्वाचनका लागि गुरु बराललाई रुखमा भोट हालेर जिताउन आग्रह गर्छ ।
बरालको प्रचार टोलीले लिएर हिडेको रोवोर्टको अपीललाई सर्वसाधारणहरुले निकै मज्जा मानेर हेर्छन् । प्रविधिसँग समाजलाई जोड्न सकिने उदाहरणको रुपमा प्रचारमा रोवोर्टको प्रयोग गरेको उनले बताए । ‘यस्तो शैली नेपालमै पहिलो पटक जस्तो लाग्छ । विगतमा मैले चाहीँ सुनेको थिईन, उनी भन्छन्–भोट माग्न भन्दा पनि प्रविधिको प्रयोगलाई जोडेको हुँ ।’ रोबोर्टको प्रयोगलाई युवापुस्ता र प्रविधिको प्रयोगबाट आफुले निर्वाचन क्षेत्रलाई विकास र सम्बृद्धिको बाटोमा अगाडि बढाउने बरालको दावी छ ।
अल्ट्रासोनिक सेन्सर प्रयोग रोवोर्ट इन्जिनियरिङका विद्यार्थीहरुले तयार गरेका हुन् । रोवोर्ट रिमोट कन्ट्रोलबाट परिचालित हुन्छ । तीनसाताको प्रयास पछि रोवोर्ट तयार भएको इलेक्ट्रिकल इन्जिनियर अनिल पाण्डेले बताए । पाण्डे सहित सुसान्त केसी, दिपक विष्ट, शम्भु प्रसाद आचार्य, नवीन क्षेत्री लगाएतको टोलीले रोवोर्ट बनाएका हुन् । रोवोर्टले चुनाव प्रचार गरेको सम्भवतः यो नै नयाँ हो, नेपालका लागि ।
बराल यतिबेला प्रचारको क्रममा भरतपोखरीमा छन् । उनी केहि दिन अझै त्यतै रहने ‘सेड्युल’ छ । रोवोर्ट भने उनीभन्दा अघिअघि लागेर अरु ठाउँमा पनि चुनाव प्रचारमा खटिएको छ । प्रचारको क्रममा ‘रोबोट’लाई आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सम्पूर्ण वडामा पु¥याउने उनले बताए ।
भेटघाट तथा घरदैलोको क्रममा भरतपोखरीमा रहेका बरालले मंगलबार भने त्यस क्षेत्रमा पर्ने लामगादी, छप्ल्याङ, उपल्लोपुँडी, तल्लोपुँडी, भञ्ज्याङ, चिलाउने, मागागिरी, धारापानी लगाएतका ठाऊँहरुमा पुगेर आफ्नो पक्षमा भोट मागे । उनले लोकतन्त्र रक्षाको लागि आफू अनवरत जनतासँग सहकार्य गर्ने प्रतिबद्धता समेत गर्न भ्याए ।
पुँडीटारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै बरालले त्यस क्षेत्रलाई राजमार्गसँग जोड्नका लागि सेतीमाथि पुल हाल्ने योजना अघि सारेका छन् । त्यस्तै कोत्रेबाट पुँडीटार हुँदै छोरेपाटनसम्म बैकल्पिक राजमार्गको अवधारणा अनुसार आफुले काम गर्ने विश्वास दिलाए । उनले पानीको अभाव भएको पुँडीटारमा ‘सित सिंचाई’ आयोजनामार्फत काम गरि पानीको अभाव घटाउन आफूले पहल गर्ने पुँडीबासीलाई वचन दिए ।
कास्कीमा वाम गठबन्धन र काँग्रेस उम्मेदवार बीच कडा प्रतिश्पर्धा छ । चुनावी माहोल कस्को पक्षमा पर्छ अनुमानभन्दा बाहिर छ । सबैको चुनावी प्रचार तीब्र छ । आ–आफ्ना चुनावी एजेण्डा बोकेर प्रचारमा पुगेका उम्मेदवारहरुलाई मतदाताले भोट दिने आश्वासन भने दिईरहेकै छन् । ३ निर्वाचन क्षेत्र रहेको कास्कीमा प्रदेशसभाका लागि ६ वटा क्षेत्र तोकिएको छ । जिल्लाभर २ लाख ५५ हजार मतदाता छन् भने ३ सय १७ वटा मतदान केन्द्रहरु तोकिएका छन् ।