काँग्रेस अझैपनि पहिलो पार्टी हो–देवराज चालिसे (भिडियोसहित)

पोखरा, पुस १८ ।
नेपाली काँग्रेसका नेता देवराज चालिसे आँफै पराजीत भएरपनि पार्टीको हार स्विकार गर्दैनन् । पोखरा स्थित गोल्डेन आई टेलिभिजसँगको कुराकानीमा उनले काँग्रेसको पोजिसन यथावत रहेको बताए । ‘सीटमा केही तलमाथी भएको हो । त्यो सामान्य हो, उनले भने–तर हाम्रो भोट यथावत छ । दुई पार्टी मिल्दा काँग्रेस पछाडी परेको मात्रै हो ।’ उनले पार्टीको जनमत मापनको आधार भएको भन्दै काँग्रेस अहिले पनि देशको पहिलो पार्टी भएको बताए । ‘निर्वाचन क्षेत्रको कारणले सीट तलमाथी पर्छ । त्यसैले हामीले जोड्ने भनेको कुल मत हो । लोकप्रिय मत कतातिर छ भन्ने कुरा महत्वपूर्ण हो, उनले थपे–अहिले काँग्रेसले समानुपातिकमा साढे ३१ लाख मत पायो, प्रत्यक्षमा झन् बढी ३३ लाख मत ल्यायो । हामी कसरी पछाडी प¥यौं ?’
जनताले काँग्रेस नेतालाई कम भोट दिएको भन्ने बिषय निराधार भएको उनले टिप्पणी गरे । ‘निर्वाचन आयोगको डाटाले नेपाली काँग्रेस अहिले पनि देशकै सबैभन्दा ठूलो पार्टी भन्ने स्पष्ट पारिसकेको छ । अनि हामी किन कमजोर मनस्थिती बनाउने ?, उनी भन्छन्–बरु देशमा काँग्रेसलाई जनताले दिएको मत बाहेक लोकतन्त्रबादीको बाँकी मत हामीले तान्न सकेनौं, त्यो हाम्रो कमजोरी हो । नेताको असफलता यहाँनिर मात्रै जोडिन्छ ।’ उनले जनताको बुझाई नपुगेकै कारण संसारमा अस्विकृत भएको सिद्धान्त नेपालमा लोकप्रिय बनेको दावी गरे ।