काँग्रेसले स्पष्टीकरण सोधेपछि पालिखेले भने–सभापति र सांसदलाई कारबाही गर्नुपर्छ (विज्ञप्ती)

पोखरा, असोज १९ ।
पोखरा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेलाई केही समयअघि काँग्रेस कास्कीले स्पष्टीकरण सोधेको थियो । पार्टीको हित विपरित काम गरेको भन्दै काँग्रेस सभापति कृष्ण केसीले तपाईंलाई कारबाही किन नगर्ने भनेर प्रष्टीकरण सोधेका थिए ।

त्यसपछि पालिखेले पत्रकार सम्मेलन गरी आफुँलाई कारबाही गर्ने कुनै आधार नभएकोले बरु पार्टी सभापति र सांसद माथी नै प्रश्न उठाए । अघिल्लो पटकको चुनावदेखि नै केही अन्तरविरोध देखिएको पार्टी र पाखिलेबीच अहिले सार्वजनिक रुपमै आरोप प्रत्यारोप हुन थालेको छ ।

आफु निर्वाचनमा होमिएको बेला उनलाई नेकपा निकट समर्थन थियो भने काँग्रेसले देव क्षेत्रीलाई सहयोग गरेको थियो । अहिले पालिखेले काँग्रेस निकटका उम्मेदवार रवीन्द्रबहादुर प्रजुलाई सहयोग नगरेकोले प्रश्न उठाईएको आन्तरिक श्रोतको दावी छ । उनले नेकपा निकटका दामु अधिकारीलाई समर्थन गरेको त्यो श्रोत बताउँछ । तर पालिखेले ब्यवसायीबीचको प्रतिश्पर्धामा पार्टीगत स्वार्थ गाँसिन नमिल्ने बताए ।पालिखेले जारी गरेका प्रेस विज्ञप्ति

उपस्थित पत्रकार बन्धुहरु !

आजको बिहानीमा मेरो सानो निम्तोलाई स्वीकार्दै उपस्थिति जनाई दिनुभएकोमा म यहाँहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु । यो सुन्दर बिहानीमा म यहाँहरुलाई आउँदै गरेको विजया दशमी, दीपावली, नेपाल संवत र छठ पर्वको हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।

यसका साथै हालै सम्पन्न पोखरा उद्योग वाणिज्य संघको ३२ औँ महाधिवेशनको सन्दर्भमा उठेका, केही संचारमाध्यमहरुमा म सँग जोडिएर आएका विषयहरुका साथै नेपाली काँग्रेसका आदरणीय सभापति श्री कृष्ण केसीज्यूृले मलाई पठाएको पत्रबारे म यहाँहरु समक्ष मेरा कुरा राख्न चाहन्छु ।

दुई वर्ष अगाडि पोखरा उद्योग वाणिज्य संघको अध्यक्षको लागि मैले उम्मेदवारी दिने क्रममा नेपाली काँग्रेसका आदरणीय सभापतिज्यू लगायतका केही साथीहरुले पार्टीका आधिकारिक कोषाध्यक्षज्यूलाई संघको महासचिवको उम्मेदवार खडा मात्र गर्नु भएन, मेरा प्रत्यासी श्री देव क्षेत्रीज्यूलाई पार्टीको आधिकारिक उम्मेदवार समेत तोक्नु भयो । पार्टीले त्यो बेला गरेको निर्णयले हामी लामो समयदेखि प्रजातन्त्रमा आस्थावानहरुलाई पीडित बनायो । तर, पोखरेली व्यवसायी र सम्पूर्ण पोखरेलीको सद्भावका कारण हामी सफल भयौँ । मैले पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष बन्ने सौभाग्य प्राप्त गरेँ । पोखरा उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्षको रुपमा तत्कालीन समयमा मलाई विश्वास गर्नु हुने आदरणीय उद्योगी÷व्यवसायी र सम्पूर्ण पोखरेलीहरुलाई म धन्यवाद ज्ञापन गर्न चाहन्छु । यसका साथै मेरो दुई वर्षे कार्यकालमा पत्रकार बन्धुहरुले दिनु भएको सहयोगप्रति पनि म आभारी छु ।

हामीले दुई वर्षको दौरानमा केही व्यवसायिक कर्महरु गर्न पाइएको मैले अनुभव गरेको छु । सबैको सहयोगबाट हामीले पोखरेलीले पिउने खानेपानीको मुहान अर्थात मर्दी क्षेत्रमा शव दहन गृह निर्माण ग¥यौँ,उज्यालो पोखरा अभियान अन्तर्गत मित्रराष्ट्र चीनको सहयोग लिएर पोखरालाई केही हदसम्म भए पनि उज्यालो बनायौँ । सडक डिभाइडर निर्माण गरी दुर्घटना न्यूनिकरण र सहर सौन्दर्यकरणलाई पनि सहयोग पु¥यायौँ । बेराजगार समस्या समाधान र दक्ष कामदारको सहज आपूर्ति गर्नको लागि जब पोर्टल निर्माण र संचालनमा ल्यायौँ । यसका अलावा पोखरेली उद्योगी÷व्यवसायीहरुको हक हितको लागि पोखरा उद्योग वाणिज्य संघले गर्नु पर्ने नियमित क्रियाकलाप र कर्तव्य पालनालाई पनि हामीले एक रत्ती कम हुन दिएनौँ ।

यहाँहरुलाई अवगत नै छ , पोखरा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व आएको छ । पोखरा उद्योग वाणिज्य संघको चुनावले दाजुभाई बीच वैमनश्यता र आफन्तहरुबीच झगडा गराउँदै आएको छ । त्यसैले मैले पोखरा उद्योग वाणिज्य संघलाई झगडाको फ्याक्ट्री भन्दै आएको छु । कसैले मन पराए पनि नपराए पनि सत्य यही हो । पोखरा उद्योग वाणिज्य संघलाई झगडाको फ्याक्ट्री नबनाऔँ र कम्तिमा पदाधिकारीहरुमा निर्विरोध गराउने वातावरण निर्माण गरौँ भन्ने मान्यताले गर्दा हामीले चुनावको मुखमा निर्विरोध रुपमा पदाधिकारी चुन्ने अभियान चलायौँ । संघको तत्कालीन अध्यक्षको नाताले यो सायद अस्वभाविक पनि थिएन ।

म सँग एकातिर पोखरा उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारी थियो भने अर्कोतर्फ नेपाली काँग्रेससँग जोडिएको आफनो पारिवारिक विरासत पनि थियो । हामीले संघको गरीमा पनि बचाउन र नेपाली काँग्रेससँग जोडिएको आत्मियताको पृष्ठ पोषण गर्न चुनावको केही अगाडि सहमतिको प्रयास थालनी ग¥यौँ । गएको निर्वाचनमा म पश्चात वरिष्ठ उपाध्यक्ष रविन्द्र बहादुर प्रजु र सो पश्चात महासचिव दामु अधिकारीलाई अगाडि बढाउने हाम्रो पूर्व सहमति पनि थियो । तर, स्थानीय निर्वाचनबाट प्रजुजी पोखरा महानगरको ३ नम्बर वडाको वडाध्यक्षमा निर्वा्चित भई सकेपछि नयाँ परिस्थितिमा महासचिव दामु अधिकारीलाई अगाडि बढाउने भनी तत्कालीन वरिष्ठ उपाध्यक्ष रविन्द्र बहादुर प्रजु, उद्योगका उपाध्यक्ष गोकर्ण कार्की, कोषाध्यक्ष पवन कुमार प्रजापति, उप महासचिव अर्जुन पोखरेल, कार्य समिति सदस्य सुरेन्द्रमान विजुक्छे बीच छलफल भई अगाडि बढ्ने सबैको स्वीकारोक्ती थियो । यही उपक्रममा चुनावको केही दिन अघि नेपाली काँग्रेसका आदरणीय सभापति श्री कृष्ण केसीज्यू,नगर सभापति आदरणीय श्री बजिरमान श्रेष्ठज्यू, संघका पूर्व अध्यक्ष तथा सभासद आदरणीय श्री विन्दुकुमार थापाज्यू, संघका तत्कालीन बरिष्ठ उपाध्यक्ष श्री रविन्द्र बहादुर प्रजुजी,उद्योगतर्फका उपाध्यक्ष श्री गोकर्ण कार्कीजी कोषाध्यक्ष श्री पवन कुमार प्रजापतिजी, उप महासचिव श्री अर्जुन पोखरेलजी र वर्तमान कोषाध्यक्ष सुरेन्द्रमान विजुक्छे सहित अतिथी रिसोर्ट होटलमा छलफलमा बसियो ।

त्यो भेलाले सर्व सम्मतको प्रयास थालौँ भनेर अध्यक्षमा दामु अधिकारी, वरिष्ठ उपाध्यक्षमा पवन कुमार प्रजापति,उद्योग उपाध्यक्षमा गोकर्ण कार्की, महासचिवमा अर्जुन पोखरेल र कोषाध्यक्षमा सुरेन्द्रमान विजुक्छेलाई ल्याउने गरी नेकपाका मित्रहरुसँग सहकार्य गर्ने गरी अगाडि बढ्नको लागि पार्टी सभापति सँग अनुरोध गरियो । सोही बैठकमा पार्टीका सभापति श्री कृष्ण केसीज्यू बाट अघिल्लो चुनावमा आफूलाई भ्रमित पारिएकाले तपाईँलाई सहयोग गर्न नसकेको भन्दै क्षमा याचना पनि गर्नु भएको थियो । अब उप्रान्त पोखरा उद्योग वाणिज्य संघको चुनावमा पार्टी प्रत्यक्ष संलग्न नहुने गरी सबै खालका साथीहरु समेटेर जानू भनी उहाँले निर्देशन पनि दिनुभयो । जसको साक्षीको रुपमा माथि उल्लेख गरिएका मित्रहरु हुनुहुन्छ ।

यसै अनुरुप हामीले अर्को पक्षका मित्रहरु पोखरा महानगरपालिकाका मेयर श्री मानबहादुर जिसीज्यू, सभासद श्री कृष्ण थापाज्यू, संघका पूर्व अध्यक्ष श्री संजिबहादुर कोइरालाज्यू को रोहवरमा हाम्रा कुरा राख्यौँ । हामी व्यवसायीबीच भाईचार नटुटने र संघमा प्रत्यक्ष राजनीतिक पार्टीको प्रवेश पनि नहुने हुँदा संघलाई नमूना बनाउने हाम्रो प्रस्ताव उहाँहरुले स्वीकार्नु भयो ।

यसै क्रममा नेपाली काँग्रेसका आदरणीय सभापति श्री कृष्ण केसीज्यू,नगर सभापति आदरणीय श्री बजिरमान श्रेष्ठज्यू, संघका पूर्व अध्यक्ष तथा सभासद आदरणीय श्री विन्दुकुमार थापाज्यू,सँग बारम्बार यही लाइनमा कुरा अगाडि बढेको थियो । साथै पार्टी सभापति श्री कृष्ण केसी ज्यूको घरमा नगर सभापति श्री बजिरमान श्रेष्ठ सहित जाँदा पनि यही लाइनमा अगाडी बढ्ने भनेर पार्टी सभापति ज्यूले भन्नु भएको पनि थियो । यहाँ नेर अलिकता महासचिवमा अर्जुन पोखरेलको नामबारे अर्को पक्षबाट प्रश्न नउठेको हैन, उहाँको ठाउँमा सुरेन्द्रमान विजुक्छेलाई महासचिव दिने कि भन्ने कुरा उठेको पनि साँचो हो । तर, अन्त्यमा नेकपाका साथीहरुले हामीलाई अध्यक्ष सहित ३ पदाधिकारी र तपाईँहरुलाई ४ जना पदाधिकारी दिने हुँदा व्यक्ति गौण हुन्छ भन्नेमा सहमति जुटेको थियो र अर्जुन पोखरेललाई महासचिवमा स्वीकारिएको थियो ।

सहमतिको प्रयासलाई सार्थकता दिने प्रयास गर्दै गर्दा कुनै पूर्व अध्यक्षको पूर्वाग्रही सोच र वैमनश्यताले गर्दा सो सहमति कार्यान्वयनमा बाधा उत्पन्न भयो । आफूले थालेको प्रयासमा भाँजो हालिए पछि म मेरै कार्य समितिमा बसेका साथीहरुलाई पक्ष विपक्षमा पार्न उचित हुँदैन भन्ने ठानी काठमाण्डौंतिर लागेँ । म काठमाण्डौं गएको बेला देखिने गरी राजनीतिक प्यानल बनाएर उम्मेदवारी घोषणा भयो ।

एकातिर आफू असफल भएको र अर्कोतर्फ आफ्नै पार्टीका साथीहरु नै आफूले दिएको वचनबाट टाढिँदा मेरो मन दुख्नु अस्वभाविक थिएन । आफू अध्यक्ष भएको नाताले चुनाव सम्पन्न गर्ने दायित्व पनि मेरो काँधमा थियो । बहालवाला अध्यक्ष नै कुनै गुटमा लाग्दा चुनावको निश्पक्षतमा प्रश्न उठ्न सक्थ्यो । त्यसैले मैले चुनावी क्रममा दुबै समूहको बैठकमा उपस्थिति जनाइन, कसैको पार्टीमा गइन र उनीहरुको सम्पर्क कार्यालय कहाँ छ भन्ने जानकारी पनि राखिन ।

पोखरा उद्योग वाणिज्य संघ राजनीति गर्ने थलो होइन । राजनीतिक पार्टी र पोखरा उद्योग वाणिज्य संघको चरित्र नै फरक छ । यही मान्यतामा अडेर मैले चुनावलाई विवादरहित र निश्पक्ष बनाउने काम मात्र गरि रहेँ । म सधैँ तटस्थ रहेँ । निर्वाचन सम्पन्न भयो , निर्वाचनको परिणामलाई सबैले स्वीकार्नु भयो । तर, नेपाली काँग्रेस कास्कीका सभापति श्री कृष्ण केसी ज्यू बाट मेरो आचरण र अनुशासन पार्टी हित विपरित भएको ठहर गर्दै पत्र प्राप्त भयो । सो पत्रमा म माथि लगाइएको आरोप स्पष्ट नभएको भन्दै मैले आरोप स्पष्ट पार्न अनुरोध गर्दै पार्टी सभापतिज्यूलाई पत्र पनि लेखेँ ।

पोखरा उद्योग वाणिज्य संघको बहालवाला अध्यक्ष र नेपाली काँग्रेसको प्रतिवद्ध कार्यकर्ताको हैसियतले दोहोरो भूमिका निभाउन पर्ने अवस्थामा पदीय जिम्मेवारी र निर्वाचनको निश्पक्षतालाई ध्यानमा राख्दै तटस्थ बस्नु के मेरो भूल थियो ? समाजका हरेक ठाउँ र संस्थामा राजनीतिक गर्नु हुँदैन भन्ने मान्यतामा म स्पष्ट छु । अर्कोतर्फ पार्टी सभापति आफैले विगतमा भूल भएको स्वीकारेको अवस्थामा चुनावी परिणामबारे मलाई दोष लगाउन खोज्नु सायद उपयुक्त नहोला भन्ने मैले ठानेको छु ।

अर्कोतर्फ, पोखरा महानगरपालिकाको वडा नम्बर ३ का वहालवाला वडाध्यक्ष समेत रहनु भएका रवीन्द्र बहादुर प्रजुलाई पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा प्रस्तुत गर्दा चुनावी पराजय हात लागेको वर्तमान परिपेक्ष्यमा निज प्रजुलाई अगाडि बढाउने आदरणीय पार्टी सभापति र माननीय सभासद ज्यूले यसको नैतिक जिम्मेवारी लिने कि नलिने ?त्यसैले मैले तपाईँ पत्रकारहरुमार्फत सत्य तथ्य कुरा समाजको अगाडि जानेछ भन्ने अपेक्षा लिएको छु । मलाई लाग्छ, केही व्यक्तिहरुको म प्रतिको नकारात्मक मानशिकता उहाँहरुको कमजोरी हो । २०२८ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिँदै मैले पार्टीले आह्वान गरेका हरेक आन्दोलन र पार्टी सहभागि हरेक चुनावमा के कति क्रियाशिलता देखाएको छु भन्ने कुरा सबैलाई विदितै छ । मेरो क्रियाशिलता र निष्ठा देख्ने पार्टीका नेताहरु अहिले पनि पोखरामै हुनुहुन्छ । मेरो मूल्याङ्कन उहाँहरुले नै गर्नुहुन्छ । खाली म यहाँ के कुरा उठाउन चाहन्छु भने पोखरा उद्योग वाणिज्य संघ कुनै अमूक पार्टीको भातृ संस्था हैन र यसलाई पार्टीको भातृ संस्था बनाउन पनि हुँदैन भन्नेमा म स्पष्ट छु । पोखरा उद्योग वाणिज्य संघको इतिहासलाई रक्षा गर्दै यसलाई निजी क्षेत्रको बलियो सामाजिक संस्था बनाउनु हामी सबै पोखरेलीहरुको कर्तव्य भन्ने म ठान्दछु । अन्त्यमा मेरा यी भावनाहरुलाई जन मानसमा पु¥याई दिनु हुन हार्दिक अपील गर्दछु । धन्यवाद !

विश्वशंकर पालिखे
निवर्तमान अध्यक्ष
पोखरा उद्योग वाणिज्य संघ
मिति-२०७५।६।१९