काँग्रेसमा संसदीय नेताको अन्यौल

पोखरा, फागुन ६ ।
प्रदेश ४ को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र संसदीय दलको नेता छनौट गर्नै अन्यौल छ । गोपालमान श्रेष्ठलाई केन्द्रिय प्रतिनिधीको रुपमा नेता छान्ने अधिकार दिईएको छ । तर उनले बैठक नै आह्वान गरेका छैनन् । सांसदहरु संसदीय दलको नेता बन्न लविङ गरिरहेका छन् । विशेषगरी निर्वाचित सांसदहरुको यसमा बढी जोड छ । नवलपुरका सांसद कृष्णचन्द्र नेपाली र कास्कीका सांसद विन्दुकुमार थापाको दावी बढी देखिन्छ । नेपाली काँग्रेसका पाका नेता हुन् भने थापा प्रदेश राजधानी समेत रहेको कास्कीका एक्ला निर्वाचित सांसद । दुवैले आँफु नै संसदीय नेता बन्नुपर्ने दावी पेश गरिरहेका छन् । केन्द्रिय समितिसम्म उनीहरुको लविङ उत्तिकै छ ।
अहिले थापाको सम्भावना बढेको काँग्रेस श्रोत बताउँछ । संसद बैठकको नियमितता, तयारी लगायत अन्य पक्षहरुलाई हेरेर थापालाई नेता बनाउन लागिएको श्रोतको भनाई छ । यद्यपी दुवै सांसद सर्वसम्मत नेता बन्ने दौडमा लागिरहेका छन् । उता समानुपातिक सांसदहरु कास्कीका कुमार खड्का र बागलुङका मणिभद्र शर्मा कँडेलको नाम पनि संसदीय नेताका लागि चर्चामा छ । धेरैको दावी भएकाले पनि नेता छनौट गर्न समस्या भैरहेको काँग्रेसका एक केन्द्रिय सदस्यले बताए । ‘सकेसम्म सहमतिमा छनौट हुन्छ । नभए आन्तरिक मतदान मार्फत निर्वाचित हुन्छन्, उनले भने–आधारसहितका दावी आईरहेका छन् । अध्ययन गरेर राम्रो मान्छे छान्न केन्द्रिय समिति लागिरहेको छ ।’ उनका अनुसार फागुन ८ गतेसम्म संसदीय नेता सहित उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुनेछन् । प्रतिपक्षी दल भएकाले सार्वजनिक लेखा समिति पनि काँग्रेसको भागमा पर्छ । त्यसका लागि पनि तयारी भैरहेको ति नेताले बताए । एमाले चाहीँ उपसभामुखको चुनाव पछि आन्तरिक छलफल गरेर बाँकी मन्त्रीपरिषद् विस्तार र सचेतक चयन गर्ने तयारीमा छ ।