काँग्रेसमा देउवाको विकल्प खोजी, पार्टीबाट छेउ लाग्दै रामचन्द्र

काठमाण्डौं, पुस ९ ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल चुनाव अघिसम्म पार्टी नेतृृत्व मात्रै होइन, प्रधानमन्त्रीकै सम्भावित दाबेदार थिए । स्थानीय चुनावमा कांग्रेस दोस्रो भएपछि आम चुनावको सम्भावित ‘ड्यामेज कन्ट्रोल’ का लागि पौडेललाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्नुपर्ने मत पनि झिनोरुपमा उठेको थियो । तर, प्रतिनिधिसभा चुनाव हारेसँगै पौडेलको राजनीतिक करियर विश्रामउन्मूख देखिन थालेको छ । कांग्रेसमा एकातिर शेरबहादुर देउवाको विकल्प खोजिँदैछ भने अर्को्तिर राजचन्द्र पौडेल क्रमशः छेउ लाग्दै गइरहेका छन् ।
पौडेल तिनै नेता हुन्, जसलाई अहिलेसम्म कांग्रेस कार्यकर्ता र जनताले समेत ‘भ्रष्ट नेता’ भनिहालेका छैनन् । कांग्रेसभित्र सादगी एवं सरल व्यक्तिको पहिचान बनाएका नेता हुन् पौडेल । तर, फागुन ०७२ मा पार्टी सभापति र मंसिर ०७४ मा प्रतिनिधिसभा चुनाव हारेपछि पौडेलको ‘करिअर’मा ‘ल अफ डिमिनिसिङ रिटर्न्स ‘ लागू हुने देखिएको छ । अर्थशास्त्रमा यो आधारभूत सिद्धान्तले भन्छ कि कुनै पनि व्यवसायमा सुरुवाति लगानीमा जति प्रतिफल आउँछ, निश्चित समयसीमा पछि लगानी थप्दा प्रतिफलमा सोही अनुपातको बृद्धि हुँदैन । अझ केही समयपछि त उत्पादनमै ह्रास आउँछ ।’
हो, कांग्रेसमा पौडेलको अवस्था यस्तै भएको छ । गिरिजाप्रसाद, सुशील कोइराला हुँदासम्म उनी भावि नेतृत्वका दाबेदार थिए । सुशील कोइरालाको निधनपछि उनी तत्कालीन संस्थापन गुटको नेता बने तर, पार्टी सभापतिको चुनाव हारे । यदि यो चुनाव जितेको भए कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोजिरहँदा उनी उपयुक्त विकल्प बन्न सक्थे । तर, यो हारले उनलाई देउवाको विकल्पका रुपमा उभिने बाटो लगभग बन्द गरिदिएको छ ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘पौडेलसँग अब फेरि उठ्ने, कांग्रेसलाई बनाउने र आफैं रिभाइभ गर्ने टाइम छैन । उनलाई समयले पनि विश्राम दिन दबाब दिएको छ । उनले यो पदचाप बुझ्छन् कि बुझ्दैनन्, थाहा छैन ।’
कांग्रेसको होइन, गुटको नेता बन्न पनि गाह्रो
सुशील कोइरालाको निधनपछि रामचन्द्र पौडेल सहजरुपमा तत्कालीन संस्थापन समूहको नेता बनेका थिए । भलै, केही आंकाक्षी थिए र उनीहरुमध्ये एक कृष्ण सिटौलाले अर्को समूह बनाउने प्रयास गरे । तर, पौडेल सहजै कोइराला गुटको नेता बने । तत्कालीन संस्थापन समूहले पौडेललाई सभापतिको उम्मेदवार पनि बनाएको थियो । तर, आफ्नो टिमको महामन्त्री र कोषाध्यक्ष जित्दा पनि पौडेलले जितेनन् ।
अहिले आम चुनाव हारेपछि भने अब पौडेल पार्टी सभापति होइन, गुटको नेता बन्न पनि गाह्रो देखिएको छ । पौडेलको समूहबाट महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले चुनाव जितेका छन् । तर, वीपीपुत्र शशांकले चुनावअघि नै आफूलाई देउवा र पौडेलसँगै प्रधानमन्त्री र पार्टी सभापतिको दावेदारका रुपमा प्रस्तुत गरिसकेका छन् । निकै संघर्षका बीच चुनाव जितेका गणेशमान पुत्र प्रकाशमान पनि आफैं नेतृत्वका आकांक्षी हुन् । चुनावी हारपछि कांग्रेसमा अहिले विशेष महाधिवेशन बोलाएर नेतृत्व हस्तान्तरणको माग उठेको छ । यो सुनुवाइ हुन्छ कि हुँदैन, अहिले नै भन्ने अवस्था छैन ।
यदि नियमित समयमा कांग्रेसको महाधिवेशन हुने हो भने रामचन्द्र पौडेलले अझै ३ वर्ष पर्खिनुपर्छ । संसदीय चुनावका लागि त नेता पौडेलले अझै ५ वर्ष कुर्नुपर्ने हुन्छ । जब कि त्यसबेलासम्म कांग्रेसभित्रको डाइनामिक्स धेरै परिर्वतन भइसक्नेमा कुनै शंका छैन । अर्का्तिर नेता पौडेलको उमेर पनि त्यसबेला ७७/७८ वर्षतिर हुनेछ । फेरि पनि राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘रामचन्द्रजीले फेरि पार्टी सभापतिका लागि पहल गर्लान् तर, उनका लागि समय सिद्धिएको जस्तो मान्छु ।’