काँग्रेसमाथी नेकपाको टिप्पणी–कांग्रेस अब सिद्धियो

काठमाण्डौं, साउन ७ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसलाई डा. गोविन्द केसीको अनसनको त्यान्द्रोमा राजनीति गर्न खोजेको आरोप लगाएका छन् । केही मानिसको अनसन र फुर्सदका बेला निकालेको जुलुस देशको सम्पूर्णता नभएको उनले बताए । तर, सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकमा संशोधनका लागि प्रतिपक्षसँग कुरा गर्न सरकार तयार रहेको उनले बताए ।

साथै उनले डा. केसीलाई स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्नुपर्छ भन्ने बहसमा आउन र चिकित्सा शिक्षा आयोगको अध्यक्ष आफैं बन्न आग्रह पनि गरेका छन् । ‘स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्नुपर्छ तर्कपूर्ण बहस गरौं । तपाई नै जिम्मा लिनुस्, आयोग चाहिन्छ भन्नुहुन्छ तपाई नै अध्यक्ष बन्नुस्’ ४० औं स्मृति दिवसको कार्यक्रममा उनले भने ।

उनले काँग्रेसको राजनीति देखेर दया लागेको बताए । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सम्बोधनको धेरै समय कांग्रेसको आलोचना गरे । उनले भने, ‘म कांग्रेसलाई भन्न चाहन्छु, गोविन्द केसीलाई जुम्लाबाट ल्याउन नदिएर उपद्रो मच्चाइयो । कांग्रेसले गर्न खोजेको के ?’

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख विपक्षी कांग्रेसले डा. गोविन्द केसीको अनसनको बलमा सरकारविरुद्ध आन्दोलन गरेकोमा चर्को आलोचना गरेका छन् । अनसनरत डा. गोविन्द केसीको काम नै अनसन बस्ने भएको र त्यसलाई नेपाली समाजले पचाइसकेको भन्दै उनले कांग्रेसले आन्दोलन गरेकोमा आक्रोश पोखे ।

उनले डा. केसीसँग वार्ता गर्न र आवश्यक परे लचिलो हुन सरकार तयार रहेको बताए । ‘तर, कांग्रेसले खोजेको के हो ? डा. केसीको पुच्छर समाएर लोकतान्त्रिक गणतन्त्र हरण गर्न खोजेको हो ?’ पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले प्रश्न गरे, ‘कांग्रेस यति निम्छरो, कमजोर र अलोकतान्त्रिक भइसकेको हो ?’

आइतबार मात्र प्रधानमन्त्री केपी शर्मा ओली र आफूले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर सहमति गरौं भनेको सुनाउँदै उनले भने, ‘उहाँले डा. केसीलाई सहमति गरे हुन्छ । नभए हाम्रो आन्दोलन जारी रहन्छ भन्नुभयो ।’ प्रचण्डले आफ्नो निष्कर्ष सुनाए, ‘यही बुद्धि हो भने कांग्रेस अब सिद्धियो । यो अवसानको बाटो हो ।’