काँग्रेसको सभामा गगनले घन्काए नाराः श्री ६ विद्या कि जय, श्री ५ ओली की जय, श्री ३ प्रचण्डकी जय

पोखरा, मंसिर ७ ।
नेपाली काँग्रेसका नेता गगन थापाले सरकार निरंकुशताको बाटोमा अघि बढेको बताए । पोखरा ८ सिमलचौरको चुनावीसभालाई सम्बोधन गर्दै उनले केपी ओली नेतृत्वको सरकारले कानुन बनाएरै निरंकुश बन्ने गरी अघि बढेको बताएका हुन् ।

कास्की २ को उपनिर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले सरकारले वाक स्वतन्त्रता हनन् गर्ने गरी कानुन संसदबाट पास गर्न लागेको बताए। मंसिर १४ गते कास्कीमा उपनिर्वाचन हुँदैछ । नेता थापाले सरकार निरंकुश बन्दै गएको आरोप लगाए । राष्ट्रपति, प्रधानमन्त्रीबारेमा सामाजिक सञ्जालमा लेखेकै भरमा प्रहरीले समाउने र जेल हाल्नेसम्मको कानुन सरकारले ल्याउन लागेको उनले आरोप लगाए ।

‘सरकारले देशमा जो मान्छेले श्री ६ विद्याभण्डारीकी जय, श्री ५ केपी ओलीकी जय, श्री ३ प्रचण्डकी जय भन्ने छन् उनीहरुमात्र जेल जान नपर्ने कानुन ल्याउँदैछ’, उनले भने, ‘खराब कार्यको जसले विरोध गर्ने छ ऊ जेल जानुपर्ने गरी कानुन बनाउन लागेको छ ।’

सरकारले कानुन बनाएर निरंकुशतातर्फ जान लागेको उनले अरोप लगाए । ‘राजा ज्ञानेन्द्रले कानुन मिचेर निरंकुशता लादेका थिए । फरक मत राख्न पाउनकै लागि ज्ञानेन्द्रका विरुद्ध आन्दोलन गरेर गणतन्त्र ल्याएको हो’, उनले भने ।

File Photo