काँग्रेसको भोटले जितेकी रेणुले एमालेलाई भोट हालिन्

भरतपुर, असोज २६ ।
एमालेसँग चुनावी तालमेल र पार्टी एकीकरणको सहमतिले चितवनमा माओबादीले काँग्रेससँगको गठबन्धन तोडेको छ । चितवनको जिल्ला समन्वय समितिको चुनावमा माओबादीका बिजयी उम्मेदवारले एमालेका उम्मेदवारलाई भोट दिएका छन् ।
जिल्ला समन्वय समिति चितवनको सभा गठनका लागि भएको निर्वाचनमा भरतपुर महानगरकी मेयर रेणु दाहाल र माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले एमाले उम्मेदवार कृष्णुमार डल्लाकोटी सहित सवैलाई भोट हालेकी छन् । ‘हामीले एमालेलाई भोट हालेका छौं, माओवादी केन्द्रका जिल्ला संयोजक यमबहादुर परियारले भने ।
भरतपुर महानगरको चुनावमा रेणुले एमाले उम्मेदवार देवी ज्ञवालीसँग प्रतिस्पर्धा गरेकी थिइन् । जसमा दाहाल २ सय ३ मतले विजयी भएकी थिइन् । भरतपुर महानगरको चुनावका बेला जिल्लामा एमाले र माओवादीबीच निकै आरोप प्रत्यारोप चलेको थियो । जिल्ला सभाको निर्वाचनमा जिल्लाका ७ स्थानीय तहका १४ जना प्रमुख र उपप्रमुखले मतदान गर्ने अधिकार राख्दछन् । जसमा एमालेको ९, कांग्रेसको ३ र माओवादीको २ मत रहेको सहायक निर्वाचन अधिकृत गम्भिरकान्त घिमिरेले बताए ।