काँग्रेसको परिमार्जन होईन, पुनर्लेखन हुनुपर्छ–शेखर कोइराला (अन्तरबार्ता)

पोखरा, पुस २६ ।

चुनावी नतिजापछि काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइराला अहिले जिल्ला भ्रमणमा छन् । पार्टी पराजीत भएको कारणबारे छलफल गर्न उनी जिल्ला समितिसँगको छलफलमा ब्यस्त छन् । काँग्रेसभित्रको अन्तरद्धन्द्धबारे पनि उनले कार्यकर्तालाई सचेत गराईरहेका छन् भने आगामी कार्यदिशा खोज्न बौद्धिक बर्गसँग सुझाव मागिरहेका छन् । उनले नेपाली काँग्रेसको परिमार्जन नभई पुनर्लेखन हुनुपर्ने आवश्यक्ता औंल्याए । जिल्ला भ्रमणकै बेला पोखरा आईपुगेका डा. शेखर कोइरालासँग काँग्रेसको आगामी कार्यदिशाबारे डिएनए नेपाल डटकमका सम्पादक प्रकाश ढकालले कुराकानी गरेका छन् ।
चुनावी नतिजा सार्वजनिक भएको महिनादिन कटिसक्यो, केन्द्रिय समिति बैठक बस्दैन ?
होईन, हामीले बैठकका लागि पदाधिकारीहरुसँग आग्रह गरेका छौं । विशेषगरी सभापति ज्यूसँग पनि कुरा भैरहेको छ । बैठक बसेर काँग्रेस पराजीतका कारणबारे समिक्षा हुनैपर्छ । त्यसका लागि मैले सार्वजनिक रुपमा पनि आग्रह गरिरहेको छु । धेरै साथीहरुको बक्तब्य बाहिरिएको छ । केन्द्रिय समिति यसतर्फ सचेत हुन्छ भन्ने विश्वास छ ।
काँग्रेस दोश्रो पार्टी भयो, त्यो पनि निकै कमजोर हिसावको । हारका कारण विश्लेषण गर्नुभएको छ ?
जिल्ला र क्षेत्र तहमा छलफल भैरहेको छ । तर केन्द्रिय समितिले कुरा गर्नुपर्ने हो, अहिलेसम्म बैठक बसेको छैन । म त के भन्छु भने कसैलाई लाञ्छना नलगाईकन छिटो भन्दा छिटो स्वस्थ्य छलफल गर्नु जरुरी छ । कसले कसलाई हरायो भन्दा पनि के कारणले पराजीत भयो यसको समिक्षा हुनुपर्छ । विभिन्न कारण छन्, काँग्रेस हार्नुमा । यसमा एउटै मात्र कारण दोषी होईन । वाम गठबन्धन मुख्य कारण हो, वहाँहरु स्थिर सरकारको नारा लिएर बलियोसँग जनताको माझमा जानुभयो । हामीले गरेको लोकतान्त्रिक गठबन्धन निकै लुज भयो । हामीले हाम्रा लागि भन्दा अरु पार्टीलाई सघाउने गरी गठबन्धन गरेका रहेछौं । गठबन्धनले नेपाली काँग्रेसका भोटरलाई क्रियाशिल बनायौं, तर अर्काको फाईदाका लागि । हाम्रा कार्यकर्ताहरु जुझारु भएनन् । महाधिवेसन, महासमिति, जिल्ला सदस्यहरु निस्क्रिय रहे ।
जिल्ला भ्रमणमा हुनुहुन्छ । के भन्छन् नेता कार्यकर्ताहरु ?
जिल्ला तहका नेता कार्यकर्तासँग काँग्रेस पराजयको पीडा छ । मैले त्यो देखिरहेको छु । वहाँहरु निराश हुनुहुन्छ । तर केन्द्रिय समिति यसमा मौन छ । बैठक गरिकन केन्द्रिय सदस्यहरुलाई जिल्ला जिल्लामा पठाउन सक्थ्यो । त्यति मात्रै होईन, हामीहरुले बुझ्नुपर्ने अर्को कुरा छ, फरक जिल्ला र क्षेत्रमा फरक कारणले चुनाव हारेको छ । एउटै कारणले काँग्रेसले चुनाव हारेको म स्विकार्दिन । त्यसैले कारण पत्ता लगाएर तत्काल ट्रिट गर्नु आजको आवश्यक्ता हो ।
गठबन्धनपछि पनि यहाँको क्षेत्रमा काँग्रेसको मत बढी थियो । तपाईं चाहीँ के कारणले हार्नुभयो ?
मैले अघि पनि भने, बाम गठबन्धन मात्रै काँग्रेस पराजयको कारण होईन । मेरो क्षेत्रमा मेरै कारण पनि चुनाव हारेको हुन सक्छु । त्यसैले मेरो माग भनेकै यसको सुक्ष्म बिष्लेषण हो । तर म यसलाई हारको रुपमा लिएको छैन । चुनाव हो, हारजीत हुन्छ । राजनीतिकर्मीले जनतालाई दुख परेको बेला पुग्न सक्नुपर्छ । मैले त्यो गरेको छु । मोरङको बाढीदेखि शितलहरमा पनि म जनतासँगै छु । पिपुलले त्यसलाई रियलाईज गरेका छन् । दुख मनाउँदैछन् । हामीले गल्ती गर्यौं भन्ने पनि छ उनीहरुलाई । त्यसकारण मलाई चिन्ता छैन । यो मेरो जीत भन्ने मैले ठानेको छु ।
काँग्रेसमा विशेष महाधिवेसनका कुरा पनि उठिरहेका छन् । यसमा तपाईंको के धारणा छ ?
विशेष महाधिवेशन काँग्रेसको इतिहासमा एकपटक मात्रै भएको छ । २०१४ सालमा, त्यो एउटा कारण थियो । अहिलेको महाधिवेशन के का लागि ? सभापति फेर्न ? सभापति हटेर समस्या समाधान हुन्छ ? त्यो हुँदैन । त्यसैले म भन्छु, केन्द्रिय समितिको बैठक बसौं । छिटै महाधिबेशन प्रतिनिधीहरुको बैठक आह्वान गरौं । मैले त डेट पनि बनाईसकेको छु । फागुन ७ काँग्रेसका लागि ऐतिहासिक हो, यही आसपासमा महाधिबेसन प्रतिनिधीको बैठक डाकौं । गहन छलफल गरौं । र विधान संशोधन काँग्रेसको अर्को टडकारो आवश्यक्ता हो । निर्वाचन क्षेत्रहरु २४० बाट १६५ मा झरिसके, गाविस वडामा समाहित भयो, गाविसहरु गाउँपालिका बने । अरु धेरै चेन्ज आईसकेको छ । त्यसैले समयसापेक्ष विधान तयार गरौं र अर्को फागुनसम्म महाधिबेशन गर्नुपर्छ ।
त्यसो भए अधिबेशनकै बेलामा कमजोरी गरेको हो काँग्रेसले ?
एकदम, क्रियाशिल कार्यकर्तालाई सदस्यता बाँड्दा नै त्रुटी भयो भन्ने मलाई लाग्छ । सदस्य भैसकेका साथीहरु पनि काँग्रेप्रति प्रतिबद्ध भएर लाग्नुभएन । मैले सबैलाई भन्न खोजेको होईन । तर धेरैमा त्यस्तो देखियो । उम्मेदवारको सिफारिसमा परेकाहरुमा पनि धेरै ठाउँमा पार्टीलाई हराउन लागेका गुनासा अहिलेपनि सुनिएको छ । तर उम्मेदवारमा पनि केही कमजोरी छ । हामी हाम्रै कारणले हार्यौं । म मेरै कारणले हारें भन्ने महशुस गरिरहेको छु । कतिपय साथीहरुले स्थानीय चुनावलाई दोषी देखिरहनुभएको छ र अहिलेको दुईवटा चुनाव एकै पटक गर्दापनि हामी कमजोर भयौं भन्ने लागेको छ ।
काँग्रेससँग युवा पुस्ताको आकर्षण घट्दै गएको मान्नुहुन्छ ? के छ यहाँको विचार ?
ठीक कुरा गर्नुभयो, यसमा म पूर्ण सहमत छु । काँग्रेसले सँधै २००३ सालको पार्टी पंक्तिको ब्याख्या गर्छ । युवाले चेन्ज खोजेका छन् । २००३ सालको काँग्रेस, ०४६ को काँग्रेस र अहिलेको काँग्रेस एउटै भयो । हामीले विपीका तत्कालीन विचारहरुलाई आधुनिकतामा ब्याख्या र प्रयोग गर्न जानेनौं । विपीले २०१२ सालमा प्रतिबादन गर्नुभएको एउटा सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजबाद काँग्रेसको अहिलेको नारा पनि त्यही छ । यसको रिडिफिनेसन हुनु जरुरी छ । नेपालमा भारतलाई गाली गरेपछि राष्ट्रबादी हुने चलन छ, तर काँग्रेसमा त्यस्तो छैन । हाम्रो कमजोरी जनतालाई हाम्रो नीति र सिद्धान्त बुझाउन नसक्नु हो । युवाहरु जागिरका लागि विदेश पलायन भएका छन् । नेपाली काँग्रेसले ७० बर्षमा कति रोजगारी सिर्जना ग¥यो ? यो मुख्य प्रश्न हो । काँग्रेसमात्रै होईन, नेपालका सबै राजनीतिक पार्टी कुरामात्रै गर्ने काम नगर्ने पंक्तिमा दर्ज भैसकेका छन् । केही राम्रा काम गरेपनि हामीले जनतालाई बताउन सकेनौं । विपक्षीहरुले त्यही कुरालाई क्यास गरेर अगाडी गए । अव यसलाई परिवर्तन गरेर काँग्रेसले युवा, वालवालिका, महिला, बृद्धबृद्धा सबैका लागि सुहाउँदो र समावेशी चरित्रको नीति तय गर्नुपर्छ । जनतालाई हाम्रा कुरा बुझाउनुपर्छ ।
एकथरी मान्छेहरु काँग्रेसले विपी बिचार छोडेको आरोप पनि लाउँछन् नि ?
छोडेको छैन । नेपालको सन्दर्भमा हिमाल, पहाड, तराईमा बस्ने सबैको एकीकृत विचार नै राष्ट्रियता हो । विपीले त्यो भन्नुहुन्थ्यो । नेपाली काँग्रेस अझैपनि त्यही बाटोमा छ । खाली विदेशी शक्तिलाई गाली गरेर राष्ट्रवाद हुँदैन भनेर बुझाउन सकेनौं । हामीले यो पनि भन्न सकेनौं कि, उत्तरी र दक्षिणी छिमेकीसँग समानान्तर सम्बन्ध बनाएर जानुपर्छ । हामीले छोडेको होईन विपीलाई । यि कुराहरु जनताकोमा पुगेन । ओली जि चुनाव जितेपछि रसुवाढी जानुभयो । प्रचण्डजी ठोरी जानुभयो । वहाँहरुको राष्ट्रबाद जनताले एसेप्ट गर्छन् । तर दुईवटा देशलाई समान राख्न सकेनौं भने देश धरापमा पर्छ भन्ने कुरा चाहीँ काँग्रेसले बुझाउनै सकेन ।
अहिलेको राजनीतिलाई यहाँले कसरी विश्लेषण गर्नुभएको छ ?
भर्खरै प्रतिनिधीसभा र प्रदेशसभा तथा स्थानीय तहका निर्वाचनहरु सम्पन्न भएका छन् । यसले संघीयता र गणतन्त्र स्थापित भएको छ । अव यि कुराहरुलाई अगाडी बढाउने जिम्मेदारी अव आउने सरकारको हो । यो निर्वाचनमा नेपाली काँग्रेस दोश्रो पार्टी भयो । र हामीहरु चाहीँ, काँग्रेसलाई सुदृढ बनाउने अभियानमा लाग्ने र प्रतिपक्षमै बसेर सरकारलाई सघाउने हो ।
काँग्रेस त वाम गठबन्धन तोड्ने कुरा गर्दै हिडेको छ त फेरी ?
त्यस्तो गर्न लागियो भने काँग्रेस र देशकै लागि पनि घात हुन्छ । जनताले हामीलाई प्रतिपक्षमा बस्ने म्याण्डेट दिएपछि जवरजस्ती गरेर हुँदैन । प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । दुई ठाउँमा प्रतिपक्ष, संसद र सडक दुवैतिर । अहिले हामी संघमा पनि छैनौं । प्रदेशमा पनि छैनौं । अगर प्रचण्ड र ओलीजीको अभिब्यक्ति संविधान संशोधन, कार्यकारी राष्ट्रपतिको कुरा गर्नुभयो भने हामी सडकमा जान पनि तयार हुनुपर्छ । तर हामी विपक्षमै बसेर अगाडी जानुपर्छ । त्यसको विकल्प छैन ।
काँग्रेस रिफर्ममा आउला त यसरी ?
काँग्रेसको कार्यकर्तामा नैराष्यता भेटेको छु, तपाईंले यसैलाई हेरेर सोध्नुभएको होल । वहाँहरुलाई म भन्छु, हामी आत्तिनुपर्ने अवस्था छैन । तर सच्चिनु चाहीँ पर्छ । नेपाली काँग्रेस सच्चिएर अगाडी बढ्नुपर्ने आवश्यक्ता छ । गणतन्त्र र संघीयतालाई मध्येनजर गरेर हामी सच्चिनुपर्ने छ । युवालाई आकर्षित हुने कार्यक्रम ल्याउनुपर्छ । नैराष्य भएर बस्ने होईन, हामी सक्छौं भन्ने अठोटका साथ लाग्यौं भने ५ बर्षमा नेपाली काँग्रेस रिफर्ममा आउँछ । यो मेरो घोषणा हो ।