कहिले हुँदैछ प्रदेशप्रमुखको सपथ ?

काठमाडौं, माघ ५ ।
राष्ट्रपति कार्यालयले सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुको सपथ ग्रहणको तयारी सुरु गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले प्रदेश प्रमुखमा नियुक्त भएका व्यक्तिहरुको विवरण अध्ययन गर्ने काम भइरहेको बताए । ‘अब चाँडै सपथ ग्रहणको समय टुंगो लाग्नेछ,’ उनले भने । सरकारले लामो समयको रस्साकस्सीपछि बुधबार ७ वटै प्रदेशका प्रमुख नियुक्त गरेको थियो । प्रदेश १ मा गोविन्द सुब्बा, प्रदेश २ मा रत्नेश्वर कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्ल तोकिएका छन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार भोलि बेलुकासम्म प्रदेश प्रमुखको सपथ गराउने तयारी छ । संविधान अनुसार प्रदेश प्रमुखले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुन बमोजिम राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने उल्लेख छ ।