कर्णाली प्रदेश सरकारलाई कर्मचारीको अभाव कायमै, ६ सय भन्दा बढी कर्मचारी अपुग

 

महोत्तरी, साउन २५ ।

संघीय निजामती ऐन निर्माण र प्रदेश लोकसेवा आयोग गठनमा भइरहेको ढिलाइका कारण कर्णाली प्रदेश सरकारलाई कर्मचारीको अभाव कायमै हुने भएको छ ।

ऐन नबन्दा प्रदेश लोकसेवा आयोगलाई आवश्यक कर्मचारीको पदपूर्ति, बढुवालगायत सार्वजनिक प्रशासनसँग सम्बन्धित काम गर्न समस्या भएको छ ।

कर्णाली प्रदेश सरकारले अघिल्ला दुई आर्थिक वर्ष कर्मचारी अभावकै कारण बजेट कार्यान्वयन हुन नसकेको जनाउँदै आएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार कर्णालीमा ६ सय भन्दा बढी कर्मचारी अपुग छ ।

सरकारले प्रदेश लोकसेवा आयोगसमेत गठन गर्न सकेको छैन । सरकारले छिट्टै प्रदेश लोकसेवा आयोग गठन गर्न लागेको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिए ।
(ईमेजखबरबाट साभार)