करणलाई पोखरामा सम्मान, प्रदेश सरकारले १ लाख पुरस्कार दिने

पोखरा, फागुन ९ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले नगदसहित सम्मान गरेको छ । पोखरा रंगशालामा बुधबार आयोजित कार्यक्रममा प्रदेशन ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेतले नगद एकलाखसहित सम्मानपत्रबाट केसीलाई सम्मानित गरे । सम्मानपछि बोल्दै मन्त्री बस्नेतले प्रदेश नं ४ लाई खेलकुदको पूर्वाधारमा प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेको बताए । साथै केसीले सञ्चालन गरेको राईजिङ क्रिकेट एकेडेमीलाई एक वर्षको लागि आवश्यक क्रिकेट किट समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरियो । नामिवियामा आयोजित आईसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ मा क्यानडा विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै करणले नेपाललाई लिग डिभिजन १ मा पुर्याएका थिए । उनलाई प्रदेश सरकारले पनि १ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल तथा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल लगायतले अविर, खादा, माला तथा सम्मानपत्र प्रदान गरेका थिए । यस्तै, मदन भण्डारी स्पोर्टस एकेडेमीले पनि नगद हस्तान्तरण गर्दै केसीलाई सम्मान गरेको छ । स्पोर्टस एकेडेमी प्रदेश नं ४ का इन्चार्ज राजेश गुरुङले नगद १५ हजारसहित सम्मान गरेका हुन् । उता योङस्टार क्लवले पनि उनलाई नगद ५ हजार सहित सम्मानपत्रले सम्मान गरेको छ । कार्यक्रमका संयोजक सुवर्ण बरालले क्रिकेटप्रति सरकारको लगानी नभएको गुनासो गरे । पाईलट सन्तबहादुर लामिछानेले नेपालमा सम्भावना भएपनि अवसरको सदुपयोग राज्यपक्षबाटै नभएको बताए । उनले क्रिकेटमा लगानी बढाउन र पूर्वाधार तयार गर्न सरकार अग्रसर हुनुपर्ने सुझाव दिए । कार्यक्रममा सुविन श्रेष्ठ, विकास रानाभाट, दीपेन्द्र राईभाट लगायतले बोलेका थिए । सोही अवसरमा अण्डर १९ का पूर्व खेलाडी दीपेश खत्रीलाई पनि सम्मान गरिएको थियो ।

२२ वर्ष भारतको चण्डीगढका विताएका करण २०१४ मा नेपाल फर्किएका हुन् । चण्डीगढको गर्भमेन्ट मोडल सिरियर सेकेण्डरी स्कुलबाट दशजोड दुई पास गरेका २६ वर्षिय करणले नेपालको राष्ट्रिय टोलीमा २०१४ र अन्तराष्ट्रिय डेब्यु भने २०१५ बाट डेब्यु गरे ।