कम्युनिष्ट सरकार रातो कार्पेटमा चिप्लिन्छ कि भन्ने डर छ–सांसद पहारी

पोखरा, असोज २० ।
नेकपाका नेता तथा गण्डकी प्रदेशसभा सांसद राजीव पहारीले सरकार असफल भए देश पुनः अस्थिरतातर्फ धकेलिने बताएका छन् । जनताको माग सम्बोधन गर्न नसक्दा विगतका शक्तिशालि सरकारहरु असफल भएको भन्दै उनले वर्तमान सरकारले देश र जनताको पक्षमा एजेण्डा बनाउनुपर्ने बताए ।

‘बहुमतको सरकार पहिले पनि थिए । हिजो विपी कोइरालाको बहुमत सरकार असफल हुँदा लामो समय देश अस्थिरतामा गुज्रियो, उनले भने–अव ओलि असफल भए फेरि देशमा संकट आउँछ । कम्युनिष्टको सरकार पनि कता कता रातो कार्पेटमा चिप्लिन्छ कि भन्ने डर लाग्छ ।’

पुष्पकमल सुवेदी प्रतिष्ठानको छैठौं वार्षिक साधारणसभा तथा नेपालमा कृषिको विकासः सम्भावना र चुनौती विषयक अन्तरिक्रया कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई संक्रमणमा जान नदिन एकजुट भएर समृद्धीको यात्रामा अघि बढ्नुपर्ने बताए । सांसद पहारीले तीनै तहका सरकारले अपेक्षाकृत काम गर्न नसकेको भन्दै रफ्तार बढाउन सुझाए ।