कम्युनिष्टहरु लोकतन्त्रको घोडा चढेर अधिनायकबाद लाद्न खोज्दैछन्–पौडेल

पोखरा, कार्तिक ११ ।
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले लोकतन्त्रको घोडा चढेर अधिनायकबाद लाद्न लागेका बताएका छन् । पोखरामा बृहत पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले बामपन्थी गठबन्धनले देशमा अस्थिरता ल्याउन लागेको आरोप लगाए । ‘नेपालमा लोकतन्त्रको रक्षा गर्ने चुनौती देखा परेको छ । अहिले कम्युनिष्टहरु संविधान कार्यान्वयनमा ब्यवधान खडा गर्दैछन्, उनले भने–कम्युनिष्टहरु बहुमतले जारी गरेको संविधान फेर्ने कुरा गर्दै हिडेका छन् । लोकतन्त्रको घोडा चढेर अधिनायकबादमा पुग्ने कम्युनिष्टहरुको चालबाजी सुरु भएको छ ।’
यो बिषयलाई सम्पूर्ण लोकतन्त्रबादी शक्तिले गम्भीरता पुर्वक लिनुपर्ने बताए । ‘अहिलेको लडाई लोकतन्त्र भर्सेज साम्यबादको हो । अधिनायक र स्वतन्त्रता बीचको लडाईँ हो, उनी भन्छन्–यो चुनाव पार्टीको होईन लोकतन्त्रको लडाई हो, ब्यवस्थाको लडाई हो । काँग्रेसलाई जनताको साथ चाहिएको छ ।’ कम्युनिष्टले देशलाई पछि पार्ने दाउ खोजिरहेका भन्दै पौडेलले त्यसतर्फ सचेत भएर काँग्रेसलाई समर्थन गर्न आग्रह गरे ।
‘कम्युनिष्टको ब्यवहार सामान्य कुरा होइन, हामी एकजुट भएर देशलाई राजनीतिक अस्थिरता त्यागेर समृद्धीतर्फ अगाडी बढाउनेछौं, उनले थपे–सबै जनताले काँग्रेसलाई साथ दिनुपर्छ । काँग्रेसलाई साथ दिने भनेको स्वतन्त्रता र समृद्धीलाई साथ दिने हो ।’