कम्युनिष्टहरु नेपालका लागि कलंक भए, देशको बेइज्जत गरे : सभापति देउवा

 

काठमाडौं, असोज १८ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरु मुलुकको लागि कंलक भएको टिप्पणी गरेका छन् ।

मित्र युवा क्लबले दशैंको अवसरमा शनिबार काठमाडौमा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले कम्युनिष्टका काण्डै काण्डले मुलुककै बेइज्जत भएको आरोप बताए ।

उनले महरा काण्डले मुलुकको शीर निहुरीएको भन्दै दुई तिहाईको सरकारले मुलकलाई बर्वाद बनाएको बताए ।

उनले पीडित महिलालाई दुई तिहाईको बलमा डर, धम्की दिएर बयान फेर्न लगाएको भन्दै पीडितलाई न्याय दिनुको सट्टा पीडित बनाएको आरोप लगाए ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाईको दुहाई दिने सरकारलाई जनताले खोज्ने बेला आएको बताए ।

उनले महँगीले चन्द्रमा छुँदासमेत सरकार कानमा तेल हालेर बसेको भन्दै सरककारको कार्यशैलीको आलोचना गरे ।

नेता भिमसेनदास प्रधानलगायतले सरकारले चाडबाडमा बढ्दो कालोबजारी, बेथिति र भ्रष्टाचार रोक्न नसकेको बताए ।

चाडबाडको अवसरमा मित्र युवा क्लबले बिभिन्न व्यक्तिहरुलाई सम्मानित गर्नुको साथै खाद्यान्न, लत्ताकपडा वितरण गरेको थियो । (ईमेजखबरबाट साभार)