कम्युनिष्टको दुई तिहाईसँग डराउनुपर्दैन–गगन थापा

पोखरा, असार १ ।
संघीय संसदका सांसद तथा नेपाली काँग्रेसका नेता गगन थापाले कम्युनिष्टको दुई तिहाईसँग नडराउन आग्रह गरेका छन् । प्रजातान्त्रिक विचार समाज पोखराले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्टको ब्यवहार विस्तारै प्रष्फुटित हुन थालिसकेको भन्दै दुई तिहाईसँग डराउनुपर्ने अवस्था नरहेको बताए ।

‘काँग्रेस सुध्रियो भने कुनै शक्तिले पनि कमजोर बनाउन सक्दैन । पहिले हाम्रो संगठन चुस्त बनाऔं, उनले भने–बाघले नचिनेको वन होईन र वनले नचिनेको बाघ होईन । कम्युनिष्टको दुई तिहाईसँग डराउनुपर्दैन ।’ कम्युनिष्टले भनेजस्तो स्थिर सरकारले मात्रै देशको विकास हुन नसक्ने उनको भनाई छ ।

‘नेपालमा पञ्चायतको ३० बर्ष स्थिरता थियो । १ सय ४ बर्षको राणाले स्थायी सरकार चलाए, उनले थपे–स्थिरताले विकास हुने भए नेपालको कायपलट भैसक्थ्यो । स्थिर सरकार केही होईन ।’ उनले शासकमा ब्यक्तिबादी चरित्र हावी हुँदा विकास गर्न नसकिने औंल्याएका छन् ।

‘पहिले राणाहरु पनि ब्यक्तिबादी हुकुमी शासनमा थिए । राजाले पनि आँफु बाहेक अरु कसैलाई देखेनन्, थापाले भने–अहिलेका प्रधानमन्त्री ज्यू पनि आँफु मात्रै सर्बेसर्बा ठान्नुहुन्छ । यसरी देशको विकास सम्भव छैन ।’ सबैतिर कम्युनिष्टको एकल सरकार हुँदा पनि विकास गर्न नसके नेपालको अहिलेको राज्य ब्यवस्था नै असफल हुनेतर्फ उनको संकेत छ ।

‘४ सय १३ वटा स्थानीय सरकार, ७ वटै प्रदेश सरकार र केन्द्रिय सरकार पनि कम्युनिष्टको छ, उनी भन्छन्–यो अवस्थामा पनि काम गर्न सकेनौं भने हामीले भन्दै आएको राज्य ब्यवस्था पुर्णतः फेल हुन्छ ।’ थापाले संविधान हरेक हिसावले ठीक भएपनि कार्यान्वयनमा समस्या देखिएको औंल्याए ।