कञ्चनपुरको बलात्कार घटना–निर्मलाका साथी प्रहरीको नियन्त्रणमा

काठमाण्डौं, भदौ ९ ।
बलात्कारपछि हत्या भएकी निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न माग गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकामा आन्दोलन जारी छ । आन्दोलनका क्रममा प्रदर्शनकारीलाई दमन गर्न प्रहरीले चलाएको गोली लागेर १४ वर्षीय सनी खुनाको मृत्यु भएसँगै सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

प्रहरीले गोली चलाएर आन्दोलनकारीको ज्यान जाँदा सरकारले घुसपैठको दाबी गदैगर्दा सरकारको नेतृत्व गरिरहेको नेकपाले समेत शनिबार बिहान बसेको आकस्मिक बैठकले घटनाको विशेष अनुसन्धान गर्न आग्रह गरेको छ । घटनाले देशको राजनीति समेत तातिइरहेको बेला कञ्चनपुर प्रहरीले घटनाको केन्द्रबिन्दुमा रहेका भनिएका दुई युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका १८ बाट रोशनी र बबिता बम रहेका छन् । उनीहरु दिदी बहिनी हुन् भने सो घरमा उनीहरु बस्दै आएका थिए । उनका बाबुआमा भने पहाडको घर दार्चुलामा बस्दै आएका थिए । कञ्चनपुरका डिएसपी तथा प्रवक्ता कृष्णराज ओझाले उनीहरुलाई घटनामा उनीहरुको शंकास्पद भूमिका देखिएकाले नियन्त्रणमा लिइएको बताए ।

दिदीबहिनी कनेक्सन
परिवारका अनुसार साउन १० गते बिहान ११ बजे निर्मला बबिता र रोशनीकहाँ पुगेकी थिइन् । तर, अपराह्न पाँच बजेसम्म पनि निर्मला नफर्किएपछि सोधखोज गर्दा बबिताले यथार्थ जानकारी दिनुको साटो रुखो जवाफ फर्काएकी थिइन् ।

सुरुमा बबिताले निर्मला दुई बजे त्यहाँबाट घर हिँडेको बताएपनि पछि ‘पोइल गइ होला’ भन्ने रुखो जवाफ फर्काएको बताइएको छ । स्थानीयका अनुसार उनीहरु कहाँ बारम्बार २ युवा पुग्ने गर्दथे । उनीहरु एसपी डिल्लीराज विष्टका छोरा र मेयर सुरेन्द्र विष्टका भतिज भएको उनीहरुको दाबी छ ।

स्थानीयले रहस्यको केन्द्रमा रहेका ती दिदीबहिनीलाई पक्राउ गरेसँगै अब हत्या प्रकरण खुल्दै जाने अपेक्षा लिएका छन् । स्थानीयका अनुसार आरोपी दिदीबहिनी बस्दै आएको घर साढे दुई तल्ले रहेपनि भाडामा दिइएको थिएन ।

स्थानीयले सुरुदेखि नै त्यही घरबाट अनुसन्धान हुनुपर्ने माग गर्दै आएका थिए । तर, प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गर्नुको साटो उल्टै एक सुस्त मनस्थितिका मानिसलाई पक्राउ गरेपछि स्थानीय आक्रोशित बन्दै आन्दोलन चर्काएका थिए ।

सरकारले भदौ ७ मा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कुमार बहादुर खड्का, एसपी डिल्लीराज विष्ट र डीएसपी ज्ञानबहादुर क्षेत्रीलाई पनि जिम्मेवारीबाट हटाएको थियो । एसपी विष्टकै छोरा निर्मला प्रकरणमा मुछिएकाले घटना रहस्यमय बनेको बताईएको छ ।