कक्षा ११ को नतिजा लापरबाही–उत्तरपुस्तिका माग्दै २७ सय विद्यार्थी आन्दोलित

पोखरा, मंसिर २४ ।
कक्षा ११ को विज्ञान संकायका विद्यार्थीहरु आन्दोलित छन् । बिद्यार्थीको भविष्यमाथी नै खेलवाड गर्ने गरि नतिजामा खेलवाड गरिएको भन्दै उनीहरु सडकमा ओर्लिएका हुन् । विद्यार्थीहरुले, जुलुस र नाराबाजी सहित राष्ट्रिय परीक्षा बोर्डको कार्यालयमा धर्ना दिएका छन् ।

विद्यार्थी र शिक्षाका सरोकारवाला संगठनले आजदेखि रिले अनसन सुरु गर्न लागेका छन् । बोर्डले गम्भीर लापरबाही गर्दै बिद्यार्थीको भविष्यमाथी हाँसोठट्टा गरेको उनीहरुको आरोप छ । विज्ञानमा ११ कक्षाको परीक्षा दिने गण्डकी प्रदेशका २ हजार ७ सय ३९ भन्दा बढी विद्यार्थी छन् ।

कक्षा १२ को परीक्षा मिति पछि सारेर ११ कक्षाको उत्तरपुस्तिका पुनः जाँच्न उनीहरुले आग्रह गरेका छन् । विद्यालय संयोजन समितिका संयोजक बाबुराम पन्तले उत्तरपुस्तिका नै नजाँची नतिजा सार्वजनिक भएको दावी गरे । सबैजसो विद्यार्थीको नतिजा डि र इ ग्रेडमा मात्रै आएको छ ।

कलेजकै टप विद्यार्थीको पनि डी र इ ग्रेडमा नतिजा प्रकाशन भएपछि लापरबाही छर्लंगै भएको उनले बताए । ‘कलेजका टप विद्यार्थी जो ए ग्रेड आउने आत्मविश्वासमा छन् । उसको नतिजा डी ग्रेड आएको छ, उनले भने–फिजिक्समा बी ग्रेड ल्याउने पनि कोही छैनन् । सबै विद्यार्थीको एकै नतिजा कसरी आउँछ ?’

नतिजाकै कारण विद्यार्थीहरु आत्महत्या गर्ने अवस्थामा पुगेको उनले सुनाए । तत्काल गल्ती नसच्याए प्रधानमन्त्री कार्यालयमा पुगेर ध्यानाकर्षण गराउने अभिभावक सरोकार समिति संयोजक मोहनराज तिवारीले बताए ।