कक्षा ११ को नतिजामा लापरबाही भएको भन्दै विद्यार्थीहरु आन्दोलित

पोखरा, असोज २१ ।
राष्ट्रिय परिक्षा बोर्डले शनिबार मात्र प्रकाशन गरेको कक्षा ११ को नतिजामा चरम लापरबाही भएको भन्दै पोखाराका विद्यार्थी आन्दोलित भएका छन् । जनप्रिय बहुमुखी क्यामसका कक्षा १२ का विद्यार्थीहरुले राष्ट्रिय परिक्षा बोर्डको पार्दी स्थित पोखरा कार्यालयमा नाराबाजी गरेका छन् ।

विशेष गरि रसायानिक विज्ञान (केमेस्ट्री) विषयको नतिजामा ग्रेड न्यून आएको भन्दै विधार्थीहरु आक्रोशित भएका हुन । कलेजका अन्य परीक्षाहरुमा उत्कृष्ट ग्रेड ल्याएका विद्यार्थीहरुको अप्रत्याशित नतिजा आएको र त्यो असम्भव रहेको जनप्रिय बहुमुखी क्याम्पसका स्ववियु सभापति आशिक गुरुङले बताए ।

निकै मेहिनत गरेर परीक्षा दिएपनि नतिजा बिग्रिएको जनप्रिय बहुमुखी क्याम्पस कक्षा १२ मा अध्यनरत सारा बास्तोलाले बताईन् । नतिजामा चरम लापरबाही गरेर विद्यार्थीहरुको भविष्य माथी नै प्रश्न उठेको उनीहरु बताउँछन् । बोर्डले तत्काल उक्त नतिजा पुनर्योग र पुनपरीक्षण गरेर नतिजा छिटो भन्दा छिटो नसच्याए जस्तोसुकै आन्दोलन गर्न पनि पछि नहट्ने विद्यार्थीहरुको चेतावनी छ ।