कंग्रेसको घरदैलो अभियान जारी

 

पोखरा, कार्तिक ३० ।

कास्की कांग्रेसले उपनिर्वाचनका लागि घरदैलो अभियान मार्फत मतदाता भेटघाट कार्यक्रमलाई जारी राखेको छ । अभियान अन्तर्गत शनिबार पोखरा–११ का अधिकांश टोलमा घरदैलो र कोणसभा भएको छ ।

संविधानसभा सदस्य एवं चुनाव प्रचार समितिका संयोजक शारदा पौडेलले पोखरा–११ मा विभिन्न कलष्टर छुट्याएर समिति गठन गरेकी थिइन् । उक्त समितिले प्रत्येक घरमा पुगेर मतदाता भेटघाट जारी राखेका थिए ।

शनिबार उम्मेदवार खेमराज पौडेलसहित केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, डा. डीला संर्गौला, कास्कीका उच्च नेताहरूसहित पोखरा–११ मा घरदैलो गरिएको हो । सो अवसरमा आयोजित कोणसभामा बोल्ने नेताहरूले कम्युनिष्ट अधिनायकवादी सरकारलाई मिनी जनमत संग्रहमार्फत दवाव दिनुपर्नेमा जोड दिएका थिए ।

योसंगै पोखराका अन्य १० वटा वडाका कांग्रेस नेता कार्यकर्ता मतदाता भेटघाट अभियान जारी राखेका छन् । यसैक्रममा पोखरा–७ मा पनि घरदैलो कार्यक्रम जारी छ ।

शनिबार कांग्रेस नेता शुक्रराज शर्मा, इकाइ सभापति नवीन बराल लगायका नेता कार्यकर्ताले विभिन्न स्थानमा पुगेर खेमराज पौडेलको पक्षमा मत मागेका थिए । आइतबार मासवार, ढाड र घारीपाटन क्षेत्रमा एकैसाथ घरदैलो गर्ने कार्यक्रम तय भएको वडासभापति बरालले जानकारी दिए ।

यसैगरी आइतबार उम्मेदवारसहितको घरदैलो कार्यक्रम पोखरा–३३ मा हुँदैछ । उक्त अभियानमा केन्द्रीय सदस्य जीवन परियासहित कास्की कांग्रेका नेताहरू पनि सहभागी हुने कार्यक्रम रहेको पार्टी सचिव सुदीपमोहन भट्टराईले जानकारी दिए । आइतबार पुँडीटार र कालिकाचोकमा घरदैलोसहित कोणसभाको तयारी भइरहेको चुनाव प्रचार समिति संयोजक जीवन परियारले जानकारी दिए ।

धादिङ सम्पर्क समिति पनि चुनावमा खटिने

नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क समिति पनि कास्की–२ को उपनिर्वाचनमा खटिने भएको छ । समितिको शनिबार बसेको बैठकले चुनाव प्रचार समिति गठन गरेको छ । सभापति लालप्रसाद पाठकको संयोकत्वमा ५१ सदस्यीय चुनाव प्रचार समिति गठन गरिएको हो ।

जसमा कृष्णकुमार श्रेष्ठ, केदार धमला, मोहन पण्डित, कमलबहादुर पाण्डे, हरि पन्त, यादुप्रसाद ढकाल, टेकबहादुर थपलिया, माधव लम्साल, नारायण दुवाडी, वेनु पण्डित, सीता श्रेष्ठ, किशोर भट्ट, देवराज अर्याल, भोजराज सापकोटा, शान्ता धरेल, नवीन थपलिया, राजेन्द्र इटनी, राजेन्द्र पाण्डे, कल्पना पौडेल, हरिकृष्ण सिटौला समितिको सदस्य छन् । यसैगरी कृष्णप्रसाद थपलिया, केशव श्रेष्ठ, अर्जुन अर्याल, राकेश श्रेष्ठ, सुव्वा श्रेष्ठ, गोपाल तिमिल्सिना, कुमार पन्त, विष्णु आचार्य, लालकाजी श्रेष्ठ, जयराम थपलिया, भरत कडरिया, कृष्णबहादुर शाह, रामकृष्ण खनाल, मिरा पाठक लगायत समितिको सदस्यमा छन् ।

यसैगरी हरि पन्तको संयोजकत्वमा प्रचारप्रसार समिति बनाइएको छ । सरोज अर्याल र राकेश श्रेष्ठलाई समितिको सदस्यमा राखिएको छ । यस्तै कोषाध्यक्ष किशोर भट्टको संयोजकत्वमा अर्थ संकलन समिति बनाइएको छ । समितिमा सहकोषाध्यक्ष देवराज अर्याल र सदस्य शान्ता धरेल सदस्य छन् ।

बैठकमा समिति सभापति एवं चुनाव प्रचार समितिका संयोजक लालप्रसाद पाठकले कास्की–२ मा कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे । ‘सरकारको अधिकायकवादी चरित्र सच्याउन र लोकतन्त्रका पक्षमा उभ्याउन कांग्रेसले यो चुनाव जित्न जरुरी छ’, उनले भने, ‘यो चुनावमार्फत जनमत कांग्रेसकै पक्षमा छ भन्ने सन्देश दिन आवश्यक छ ।’

कास्की–२ मा उच्च तहका नेताको चासो

कास्की–२ को उपनिर्वाचनमा नेपाली कांग्रेसका नेताहरूले निकै चासो देखाएका छन् । कांग्रेसले केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई नै चुनावी कमाण्डर बनाएर खटाएको छ । नेता रिजाल १ सातादेखि कास्की–२ मा खटिएका छन् । यसैगरी शनिबार नेता कृष्णप्रसाद सिटौला, महिला नेतृ तथा सांसद डा. डीला संग्रौला पोखरा आएर घरदैलो तथा कोणसभामा सहभागी भए ।

यसैगरी मंसिर ५ गते युवा नेता गगन थापा पोखरा आउने र पोखरा–१५ र १५ को कोणसभामा सहभागी हुने कास्की कांग्रेसले जनाएको छ । सोही दिन साँझ पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र ७ गते बिहान पार्टी सभापति शेरबहादुर देउवा पोखरा आउने र आमसभामा सहभागी हुने बताइन्छ । आमसभाको मिति र स्थान तय नभए पनि मंसिर ७ गते वृहत आमसभा गर्ने कास्की कांग्रेसको तयारी छ ।