ओली–प्रचण्ड बार्ता सकियो (के भयो छलफलमा ?)

काठमाण्डौं, माघ २९ ।
पार्टी एकतालाई निष्कर्षमा र्पुयाउन भन्दै बसेको एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक सकिएको छ । ललितपुरको मानभवनस्थित गोप्य स्थानमा भएको वार्तामा दुवै पार्टीका अध्यक्षद्वयले पार्टी एकता र नयाँ सरकारको विषयमा छलफल गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयका अनुसार वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको छ ।
बैठक स्रोतले भन्यो, ‘एकता प्रक्रियामा लामो समय लाग्छ, छलफलको निरन्तरता नै आजको बैठक हो । संवाद निकै सकारात्मक छ ।’ दुवै दलका शीर्ष नेता नयाँ सरकार गठन अगाडि नै एकताको प्रारम्भिक रुपरेखा कोर्ने तयारीमा छन् । एकीकृत पार्टीको नेतृत्वलाई लिएर दुवै पार्टीबीच गम्भीर असहमति छ । माओवादीले सरकार र पार्टी नेतृत्वमा एक रोज्न एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गर्दै आएको छ । एमाले अध्यक्ष ओलीले दुवै पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेपछि वार्तामा जटिलता पैदा भएको थियो ।
एकता प्रक्रिया नै भाँडिने खतरा देखिएपछि पार्टी नेतृत्व माओवादीलाई दिएर अन्य नेतृत्व व्यवस्थापनको विषय अघि बढेको माओवादी अध्यक्ष प्रचण्डले खुलासा गरेका छन् ।