ओलीलाई कांग्रेस प्रवक्ताको चुनौती–ख्याल गरेर बोल्नुस्

काठमाण्डौं, मंसिर २० ।
नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो पदीय गरिमाको ख्याल नगरिकन बोलेको आरोप लगाएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै शर्माले प्रधानमन्त्री ओलीलाई आफ्नो कर्ममा विश्वास गर्न र पदीय दायित्वलाई ध्यान दिन सुझाव दिएका हुन् ।

’यो देशमा बुद्धिजीवी बोल्न नपाउने ? बोल्यो भने थला पार्ने ?’ यसरी सरकारको आलोचनालाई निषेध गरेर लोकतन्त्रमा बोल्न नपाइने शर्माको तर्क थियो । यसले अभिव्यक्ति स्वतन्त्रलाई निस्तेज पार्न सक्ने आशंका बढेर गएको शर्माले बताए ।

‘नेपाली कांग्रेसको तर्फबाट बुद्धिजीवीहरूमाथि प्रधानमन्त्रीले लगाएको आक्षेपको घोर भर्त्सना गर्न चाहन्छु’ उनले भने । अरूलाई धम्की नदिन प्रधानमन्त्रीलाई शर्माको सुझाव छ ।

‘प्रधानमन्त्रीलाई के सुझाव दिन चाहन्छु भने, ’थला पार्ने’ धम्की नदिनुहोस, आफ्नो कर्ममा विश्वास गर्नुहोस् र आफ्नो कर्ममा बौद्धिकतालाई स्थान दिनुहोस’ शर्माको चेतावनी छ । शर्मा थप्छन्, ‘यस्तो प्रकारको जवाफ दिनुपर्दैन, इतिहासमा कर्म लेखिन्छ बोली लेखिँदैन ।’

बुधवार प्रसारित जनतासँग प्रधानमन्त्री कार्यक्रममा बुद्धिजीवीहरूप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले वादविवादमा उत्रिए आफूले उनीहरूलाई थला पार्न सक्ने अभिव्यक्ति दिएका थिए ।