ओलीलाई काँग्रेस नेता देवराजले भने–बोल्न नआए ३ कक्षामा भर्ना हुनु (भिडियो सहित)

पोखरा, मंसिर १३ ।
नेपाली काँग्रेसका नेता देवराज चालिसेले एमाले अध्यक्ष केपी ओलीलाई सम्हालिएर बोल्न चेतावनी दिएका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अरुलाई गाली गरेर राजनीति गर्ने दिन सकिएको भन्दै मर्यादा राखेर बोल्न आग्रह गरे । काँग्रेसलाई सक्ने ओलीको सपना कहिलै पूरा नहुने भन्दै उनले काँग्रेस दुवो भएको भन्दै अटल भैरहने उल्लेख गरे । ‘पूर्व प्रधानमन्त्री जस्तो मान्छेसँग बोल्दा मर्यादा हुनुपर्छ । मुखमा जे आयो त्यही बोल्नु हुँदैन, उनले भने–कुहिनोले पहरोमा हान्दा ओलीजी तपाईँकै हात भाँचिएला, होसियार हुनुस् । बोल्न आउँदैन भने ३ कक्षा भर्ना हुनुस् ।’
बाम गबठन्धन पुरातनबादी गठबन्धन भएको चालिसेको आरोप छ । उनले वाम गठबन्धनका नाममा जनतालाई धोका दिएको आरोप लगाए । नेपाली जनतालाई दास बनाउनका लागि कम्युनिष्ट गठबन्धनले मत मागिरहेको भन्दै सचेत हुन आग्रह गरे ।
‘आफ्ना छोराछोरी पढाउन अमेरिका बेलायत र जापान पठाउने । उनीहरुलाई छोराछोरीका लागि प्रजातन्त्रबादी मुलुक चाहिने, उनले भने–तर नेपाललाई उत्तर कोरिया बनाउने कुन गठबन्धन हो ?’ उनले कम्युनिष्ट गठबन्धनलाई वाम नभई दामको गबठन्धन भएको प्रष्ट्याए । २ सय बर्ष पूराना सिद्धान्तमा राजनीति गर्न खोज्ने कम्युनिष्टहरु बाम नभएको चालिसेको दावी छ ।