ओलीको कार्यकाल-पार्टी एकता मजबुत, नेतृत्वमा कमजोरी

काठमाण्डौं, असोज ६ ।
एमाले अध्यक्षका रूपमा केपी ओलीले तीन वर्षको कार्यकाल पूरा गरेका छन् । ०७१ असारमा सम्पन्न नवौँ महाधिवेशनमा प्रतिस्पर्धी नेता माधवकुमार नेपाललाई ४४ मतले पराजित गरेर अध्यक्ष बनेका ओलीले नौ महिना प्रधानमन्त्री बनेर मुलुकको नेतृत्वसमेत सम्हाल्ने अवसर पाए । उतारचढावयुक्त राजनीतिक घटनाक्रमकै वेला पार्टी र मुलुकको नेतृत्व सम्हालेका उनको तीनवर्षे कार्यकालबारे एमालेवृत्तमै विभिन्न कोणबाट समीक्षा हुन थालेको छ ।
साउन पहिलो साता अध्यक्षको कार्यभार सम्हालेका ओलीका लागि केन्द्रीय कमिटीमा स्पष्ट बहुमत छ । प्रतिस्पर्धी नेपाल समूहले पनि पार्टी निर्णयमा अवरोध गरेको देखिँदैन । पार्टी सञ्चालन र महाधिवेशनका महत्वपूर्ण एजेन्डा कार्यान्वयनमा ओलीको कमजोरीको खुलेर आलोचना गरे पनि राजनीतिक एजेन्डामा उनको नेतृत्व औसत सफल रहेको नेपाल समूहकै नेताहरूको विश्लेषण छ ।