ओलि प्रचण्डको बैठक, आजै मन्त्रिपरिषद् विस्तार हुने

काठमाण्डौं, फागुन १४ ।
केपी ओली सरकारको मन्त्रीमण्डल बिस्तार आज दिउँसो ३ बजे हुँदैछ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहान हुने बैठकपछि मन्त्रीहरूको नाम टुंगो लाग्ने भएको हो । दुवै पार्टीमा मन्त्री पदलाई लिएर धेरैको आंकाक्षा बढेपछि एमालेले मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री ओली र माओवादीले अध्यक्ष प्रचण्डलाई सुम्पिएको थियो । मन्त्रालय सम्बन्धी बाँडफाँट मिले पनि कसलाई मन्त्री बनाउने भन्ने विषय पेचिलो बनेको छ । ‘दुई शीर्ष नेताबीच बिहान ९ बजे बैठक बसेर मन्त्रीहरूको नाम टुंगो लगाउने सहमति भएको छ । आजै राष्ट्रपति कहाँ नाम गएर सपथ पनि हुनेछ,’ बालुवाटार स्रोतले नेपाल लाइभलाई भन्यो ।
एमालेमा महासचिव ईश्वर पोखरेलसहित प्रदीप ज्ञावली लगायत मन्त्री बन्ने सूचीमा छन् । माओवादीबाट सरकारको प्रतिनिधित्व रामबहादुर थापा ‘बादल’ ले गर्ने पक्का भइसकेको छ । माओवादीको भागमा परेको गृह मन्त्रालय कसलाई दिने भन्ने विषय पेचिलो बनेपछि आइतबार विस्तार गरिने भनिएको मन्त्री मण्डल आजका लागि सरेको हो । ओली सरकारले संघीय समाजवादी फोरम, नेपाललाई पनि सरकारमा समावेश गराउन पार्टी अध्यक्ष उपेन्द्र यादवसँग वार्ता गरिरहेको छ । मधेसकेन्द्रित पार्टी सरकारमा समावेश भए सत्ता साझेदार दल एमाले र माओवादी ७–७ मन्त्रालय राख्ने कुरामा सहमत छन्। यसपालि १७ सदस्यीय मन्त्रिपरिषद् हुनेछ ।