एसएसपीकाे बलात्कार काण्डः २१ बर्ष जेल सजाय माग्दै अभियाेगपत्र दायर

पोखरा, साउन २६ ।
यूवती बलात्कार गरेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारी विरुद्ध २१ बर्षको जेल सजाय माग्दै अभियोगपत्र दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतकार उनी विरुद्ध २१ बर्ष सजाय माग्दै जबरजस्ती करणी मुद्धामा अभियोगपत्र दायर गरेको हो ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा २ (ङ) अनुसार ७ देखि १० वर्ष सजाय माग भएकोमा संहिताको दफा २२३ को उपदफा २ को (१) बमोजिम ४ वर्षसम्म कैद र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १५ को उपदफा २ (ङ) अनुरुप डेढी सजाय हुने व्यवस्थासहित ३ अभियोग दर्ता गरी गरिएको हो । जसअनुसार कुल अधिकतम् २१ वर्षसम्म कैद सजाय माग दायर गरिएको सरकारी वकिलकाे कार्यालयले जनाएकाे छ ।

सोमबार थुनछेक बहस हुनेछ । यसपछि धरौटीमा छाड्ने वा हिरासतमा राखेर अनुसन्धान गर्ने भन्ने टुंगो लाग्नेछ । आफूलाई खाना खान बोलाएर अधिकारीले बलात्कार गरेको मौखिक उजुरी युवतीले दिएपछि उनी पक्राउ परेका हुन् । घटना विवरण अनुसार चितवनबाट सोही दिन बिहान स्कुटर चढेर आएकी ती युवती खाना खाने निम्तो मान्न लामापाटनस्थित एसएसपी अधिकारी बस्ने क्वार्टरमै पुगेकी थिईन् । खानामा लठ्याउने चिज हालेर अधिकारीले आफूमाथि जबर्जस्ती बलात्कार गरेको उनको उजुरी छ ।